मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

एक महिनाभित्र सबै स्थानीय तहमा भूमि प्रशासन सेवा सञ्चालन गर्न मन्त्रालयको निर्देशन

मंगलबार, कार्तिक १७ २०८३

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई आगामी एक महिनाभित्र अनिवार्य रूपमा भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

मन्त्रालयको भूमि प्रशासन शाखाले जारी गरेको पत्रअनुसार कात्तिक १३ गतेको मन्त्रीस्तरीय निर्णयबाट सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्न निर्देशन दिइएको हो।

मन्त्रालयका अनुसार स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनका लागि हालसम्म २२५ स्थानीय तहबाट आशयपत्र प्राप्त भएको छ। तीमध्ये एक उपमहानगरपालिका, २० नगरपालिका र १२ गाउँपालिकाले सेवा सञ्चालन गरिरहेका छन्।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने बनेको अध्यादेश, २०८३ अनुसार मालपोत ऐन, २०३४ मा संशोधन गरी दफा ८(ग) मा रजिस्ट्रेसनसम्बन्धी काम स्थानीय तहले समेत गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

मालपोत नियमावली, २०३६ मा निर्दिष्ट व्यवस्थासमेतका आधारमा सबै स्थानीय तहलाई सेवा सञ्चालन गर्न निर्देशन दिइएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयले बाँकी रहेका सबै स्थानीय तहलाई एक महिनाभित्र भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रूपमा सञ्चालन गर्न ताकेता गरेको छ।