काठमाडौँ – काठमाडौँ महानगरपालिका–१९ रामघाट डेरा गरी बस्ने भारत कलकत्ता मेहेन्दीपुर पश्चिम बंगाल घर भएका ४७ वर्षीय दिलिप आदकको हत्या गरेको अभियोगमा पर्सा बहुदरमाई नगरपालिका–२ हांसवा घर भएका २५ वर्षीय राजाबाबु भन्ने श्रीलाल ठाकुरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
आदकको उनकै कोठामा असोज १९ गते विहान शव फेला परेको घटनाको थप अनुसन्धानको क्रममा आदकसँगै बस्दै आएका श्रीलालले हत्या गरेको खुल्न आएपछि आदकलाई काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट पक्राउ गरेको हो । श्रीलालले काठ च्यापन प्रयोग हुने सकिन्जाले सुतिरहेको अवस्थामा टाउकोमा प्रहार गरी हत्या पश्चात शव कपडाले छोपी बाहिरबाट ताल्चा लगाई फरार भएको खुल्न आएको छ । साथै उनको कोठाबाट उक्त सकिन्जा र आधा फोडिएको बाकसमा रहेको नगद ४ लाख १९ हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।
झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्क बस्ने ताप्लेजुङ सिदिम्बा गाउँपालिका–४ सुरूमखिम घर भएका २५ वर्षीय नबिन्द्र गुरूङको हत्या गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम, इलाम नगरपालिका–९ घर भई झापा अर्जुनधारा नगरपालिका–११ स्थित ताप्लेजुङ इलाम होटलका संचालक ३८ वर्षीय इन्द्र बहादुर अधिकारी, पाँचथर फिदिम नगरपालिका–१२ घर भई सोही होटलका स्टाफ २१ वर्षीय अमृत आचार्य र उनकै श्रीमती २३ वर्षीया बिमला राई रहेका छन् । इन्द्र बहादुरलाई उनकै होटलबाट तथा अमृत र बिमलालाई पाँचथरबाट पक्राउ गरेको हो । असोज १७ गते उक्त होटलमा उनीहरू मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको अबस्थामा हारजितको बिषयलाई लिएर विवाद हुँदा उनीहरू समेतका व्यक्तिहरूले नविन्द्रलाई लोहोरो र चक्कुले प्रहार गरी गम्भीर घाइते बनाई उक्त होटलबाट करिब १ सय ५० मिटर टाढा रहेको सडकमा फालिदिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । असोज १८ गते बिहान उनको शव फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।