बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सत्ता गठबन्धनले देशलाई ओरालोतर्फ धकेलिरहेको छ : अध्यक्ष ओली

शनिबार, असोज १ २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशलाई ओरालोतर्फ धकेलिरहेको बताएका छन् । 

शनिबार संविधान दिवसका अवसरमा एमालेले निकालेको पदयात्रापछि सम्बोधन गर्दै अध्यक्षओलीले देशलाई अप्ठेरो अवस्थाबाट अगाडि लैजानुपर्ने बताएका हुन् ।

संविधान दिवसको अवसरमा आज बिहान काठमाडौंमा पार्टीद्वारा आयोजित पदयात्रालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले यसको सुरुवात गरेको बताए ।

अध्यक्ष ओलीले भने, ‘यो सरकारी नभएर राष्ट्रिय दिवसको रूपमा मनाइनुपर्दछ । यो आजसम्म हुन सकेको थिएन हामीले यसको सुरुवात गरेका छौं ।’

अध्यक्ष ओलीले कैयौं संघर्ष र बलिदानबाट प्राप्त संविधानको रक्षा र कार्यान्वयन गर्ने सन्दर्भमा विद्वेष र तनावको विषय बनाउने कुचेष्टा भएको बताए ।

पछिल्लो समय एमालेले धक्का खाएको उल्लेख गर्दै  उनले त्यसलाई चिरेर अघि बढ्नसमेत नेताकार्यकर्तालाई निर्देशन दिए । 

देश संविधानसम्मत चल्नुपर्ने उल्लेख गर्दै उनले भने,’यतिबेला देशलाई हार्न दिन हुँदैन, जनतालाई हार्न दिन हुँदैन । संविधानलाई हार्न दिन हुँदैन । संविधान दिवस र राष्ट्रियता दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाइरहेका छौँ ।’ त्यस्तै संविधान दिवसलाई जनताको दिवसका रूपमा र राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्ने उनको भनाइ थियो ।

पदयात्राको उपस्थिति र उत्साहले संविधान, राष्ट्रियता र लोकतन्त्र र देशलाई सही बाटोमा अघि बढाउने संकल्प देखिएको भन्दै अध्यक्ष ओलीले धन्यवाद समेत दिए ।