काठमाडौं – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ चाँदनी चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ४ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय जिवन सोमई मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
सिरहाको सखुवानान्करकट्टी गाउँपालिका–५ महेशवारी चोकस्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २८ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ३८ ट्याब्लेट र ९ एमएम पेस्तोलको गोली १ थान सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लक्ष्मीपुरपतारी गाउँपालिका–५ घर भई लहान नगरपालिका–५ बस्ने २५ वर्षीय अब्दुल मरासिकी र उदयपुर त्रियुगा नगरपालिका–४ घर भएका ४१ वर्षीय ध्रुब बुढाथोकी रहेका छन् । ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले स.११ प ५७२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त लागूऔषध र गोली फेला पारी पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ रुवस होटल नजिकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका–३ बस्ने २१ वर्षीय अशोक अधिकारी र २४ वर्षीय मोहित जोशीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बसपार्क कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।