काठमाडौं : मोरङको सुन्दरहरैचा नगरपालिका–१० खोर्साने चोकस्थित सेसेहाङ होटलका संचालक ४१ वर्षीय संजय लिम्बुलाई करिब १ केजी ७ सय २० ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मोरङको पथरीशनिश्चरे नगरपालिका–३ मगरटोलबाट करिब ५ सय ७५ ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–२ बस्ने १९ वर्षीय सुनिल परियार र सोही नगरपालिका–३ बस्ने ३८ वर्षीय कोपिला मगर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले सुनिलको साथबाट ५० ग्राम तथा कोपिलाको साथबाट ५ सय २५ ग्राम उक्त लागूऔषध, नगद १२ हजार रूपैयाँ र १ थान डिजिटल तराजु फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट करिब १ ग्राम १ सय ८० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बाँके खजुरा गाउँपालिका–२ बस्ने ३४ वर्षीय नबिन थापा मगर लगायत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सिरहाको सुखीपुर नगरपालिका–८ महदेवाटोलबाट करिब ६ सय ग्राम अवैध लागूऔषध गाँजा र नगद २९ हजार ३ सय ५ रुपैयाँ सहित सोही ठाउँ बस्ने ६८ वर्षीय ढोढाई चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । चौधरीले अवैध लागूऔषध बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सिरहाको लहान नगरपालिका–२३ बाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ४० वर्षीय साधु महतो लगायत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ सिसौलीघाटबाट करिब २० केजी अवैध लागूऔषध गाँजा बिहीबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले प्लाष्टिकको बोरा भित्र लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।