मुलुकको अन्तर्राष्ट्रिय सीमानामा अपराध तस्करीलाई नियन्त्रण गर्न तैनाथ गरिएको सशस्त्र प्रहरी बलका कै संरक्षणमा तस्करी मौलाएको छ । झापाका इन्स्पेक्टर रबिन ढुंगानाको संरक्षणमा घेराबरी नाकाबाट विगत केही समयदेखि चोरी तस्करी खुलेआम भइरहेको स्थानीय बताउँछन् ।
इन्स्पेक्टर ढुंगानाको मिलेमतोमा नेपाली र केही भारतीय तस्करहरुले झापा हुँदै गाईगोरु तस्करी गरेर भारत तथा तेस्रो मुलुक बंगादेशसम्म पुर्याउने गरेको खुलेको छ भने भारतबाट घरायसी सामान लगायत फलफूल तथा तरकारी, खैनी, पराग, युरिया मल नेपाल भित्र्याउने गरिएको छ ।
नेपाल र भारतबीचको खुला सीमाका कारण तस्करहरुलाई सहज भएको हो । त्यसमा पनि देशको तलव खाएर बसेको सुरक्षा निकाय सशस्त्र प्रहरी नै यसमा सामेल भएपछि नेपालका गाईगोरु भारततिर तस्करी अझ बढेको हो ।
पूर्वी नेपालबाट गाईगोरु भारततिर लैजाँदा दुईवटा मुलुकमा सहजै बिक्री गर्ने सकिने भएकाले तस्करी गर्नेहरूले पूर्वी नेपालका दक्षिणी नाका रोज्न थालेको स्थानीयहरू बताउँछन्।
भारतको उत्तर प्रदेश तथा बिहार राज्यले गाईगोरु ओसारपसार तथा वध गर्न प्रतिबन्ध लगाएको छ । तर तस्करहरूले झापासँग जोडिएको पश्चिम बङ्गाल राज्यतिर तस्करी गरिरहेको प्रमाण फेला परेको छ ।
झापाका बनियानी, पथरिया, भद्रपुर, कुमरखोद तथा चौरी नाकाबाट प्रहरीकै मिलेमतोमा गाई तथा गोरु सप्लाई भइरहेको स्थानीयले बताएका छन् ।