बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आजदेखि रसुवागढी हाइड्रोको ६८ करोडको आईपीओ खुल्यो

सोमबार, असार १३ २०७९

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले सोमबारदेखि ६८ करोड बढी मूल्यको (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि उक्त आईपीओ बिक्रीमा ल्याएको हो ।

सर्वसाधारणलाई भने कम्पनीले यसअघि नै शेयर जारी गरेर दोस्रो बजारमा खरिद बिक्रीसमेत हुँदै आइरहेको छ । कम्पनीले स्थानीय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत बराबरले हुने ६८ लाख ४२ हजार १०० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

यो शेयरमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइँकुण्ड, वडा नम्बर १ थुमन र वडा नम्बर २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेका साथै गोसाइँकुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नम्बर ४ लाङटाङ, वडा नम्बर ५ स्याफ्रुबेशी र वडा नम्बर ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओको निष्काशन बन्द २७ असारमा हुनेछ । सो अवधिभित्र सबै सेयरको माग नपरेको खण्डमा भने ढिलोमा १० साउनसम्म आईपीओ खुला हुनेछ ।