शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज आठौँ चुरे दिवस मनाइँदै, पाँच लाख वृक्षरोपण गर्ने तयारी

बिहिबार, असार २ २०७९

काठमाडौं । राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिले यस वर्ष एकै दिन कम्तीमा एक लाख रुख, फलफूलका बिरुवा र बाँस रोपेर आठौँं चुरे दिवस मनाउन लागेको छ ।

चुरेलाई संरक्षण क्षेत्र घोषणा गरेको दिन असार २ गतेलाई नै प्रत्येक वर्ष चुरे दिवसका रूपमा मनाउने क्रममा आज आठौँ चुरे दिवस मनाइँदैछ ।

वृक्षरोपण अभियानको शुभारम्भ आज राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीको दुधौली नगरपालिकास्थित विशाल सामुदायिक वनबाट गर्ने र बाँकी देशभरका समितिका एकाइ तथा वन कार्यालयबाट हुनेछ । असार महिना वृक्षरोपण महिनाको रूपमा मनाउँदै महिनाभरि कम्तीमा पाँच लाख वृक्षरोपण गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ । समितिले यो अभियानमा सबै सरोकारवालालाई सहभागिताका लागि अनुरोधसमेत गरेको छ ।

समितिका अध्यक्ष डा किरण पौडेलले यो अभियानलाई निरन्तरता दिन र वन तथा वातावरण मन्त्रालयको ‘जनताको रहर, हरित सहर’ नारालाई समेत दृष्टिगत गरी समितिको पहल तथा समन्वयमा आगामी पाँच वर्षमा कम्तीमा एक करोड बाँस, अम्रिसोजस्ता प्रजातिहरू र एक करोड रुख र फलफूल प्रजाति रोपी चुरे तराई मधेस संक्षरण र त्यहाँका जनताका जीवनस्तर सुधार्ने गरी चुरे हरित अभियान सञ्चालन गर्न लागेको बताए ।

नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ जिल्लामा कूल भू–भागको १२।७८ प्रतिशत क्षेत्रमा फैलिएर रहेको चुरे पहाड तराई मधेसको अस्तित्वसँग अन्योन्याश्रित सम्बन्ध छ । चुरे क्षेत्र भौगर्भिकरूपमा कमजोर, धेरै पानी पर्ने, भूकम्पीय कारणबाट जोखिमयुक्त, जैविक विविधतामा धनी रहेको, दुर्लभ वन्यजन्तुहरूको बासस्थान र जैविकमार्ग हो ।