काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले ‘राजश्वको दर तलमाथि गर्न अपरिचित व्यक्तिलाई राखेर बजेट बनाएको’प्रति अर्थमन्त्री जनार्दन शर्माले गम्भीर विषयमा संसद्मा प्रष्ट नपार्नु आपत्तिजनक विषय भएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पत्रपत्रिकामा प्रकाशित भएका समाचार अनुसार राजश्वको दर तलमाथि गर्न अपरिचित व्यक्तिलाई राखेर बजेट बनाएकोप्रति संसद्मा अर्थमन्त्री शर्माले जानकारी गराउनुपर्ने माग गरे ।
उनले अनधिकृत व्यक्तिलाई संलग्न गराएको र करका दरमा नीतिगत भ्रष्टाचार भएको विषयमा सरकारको जवाफ नआएको भन्दै गम्भीर विषयमा प्रस्ट नभएसम्म सदनको कारबाही अघि नबढाउन सभामुखलाई आग्रह समेत गरे ।
पाण्डेले विद्युतीय सवारी साधन, सेनिटरी प्याडलगायतका सामग्रीमा कर वृद्धि गरिएको र अनाधिकृत व्यक्तिलाई बजेट निर्माणको अन्तिम दिन प्रवेश गराइएको विषयको बारेमा ध्यानाकर्षण गराए।
संसदले छानबिन गर्नुपर्ने भन्दै पाण्डेले अर्थमन्त्रीले नैतिक हिसाबले मन्त्रालयमा बस्न नमिल्ने बताए ।