शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेको प्रश्न : अर्थमन्त्रीको निर्देशनमा मध्यराति राजस्व र भन्सारका दरहरु तलमाथि गरेर के गर्न खोजिएको हो ?

सोमबार, जेष्ठ ३० २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् ।

बजेट निर्माणमा खेताला विज्ञको सहयोग लिने अर्थमन्त्री  शर्माले राजीनामा दिनुपर्ने उनको माग छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा भट्टराईले मध्यराति पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराउने अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताए । 

सोमबार सञ्चारमाध्यममा बजेट ल्याउने अघिल्लो दिन १४ जेठको मध्यरातमा अर्थमन्त्री शर्माले पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गरेको समाचार आएपछि संसदमा प्रतिपक्षी दल एमालेले अर्थमन्त्रीले राजीनामा मागेको हो । 

भट्टराईले अर्थमन्त्री शर्माले आफ्नो अमुक प्रतिनिधिलाई जेठ १४ गते मध्यराति अर्थमन्त्रालयमा खटाई विद्युतिय गाडीका कर, स्वास्थ्य विमाको विषय, फलाम र फलामजन्य वस्तुहरुको कर, सेनिटरी प्याडको कर लगायको विषयमा करको दर हेरफेर गराएको सञ्चारमाध्यममा समाचार आएको उल्लेख गर्दै यस विषयमा प्रधानमन्त्री र अर्थमन्त्री दुवैले स्पष्टिकरण दिनुपर्ने बताए ।

बेलायती संसद र अर्थमन्त्रीको राजीनामा प्रकरण उल्लेख गर्दै सांसद भट्टराईले सोही विषय नेपालमा लागू हुन्छ कि हुँदैन भन्दै प्रश्न गरे ।

यसबारे सदन, सांसद, प्रधानमन्त्रीसहित सबैका ध्यानाकर्षण हुनुपर्ने उनको भनाइ छ । 

अर्थमन्त्री शर्माले बजेट सेटिङमा ल्याएको र निजी क्षेत्रका व्यापारिक घरानालाई फाइदा र बेफाइदा हुने गरी हदैसम्म मिलाइएको आरोप छ ।