बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हाइटेन्सन लाइनमा झुण्डिएर प्रेमबहादुरले दुनियाँलाई पारे हायलकायल

आइतबार, जेष्ठ २९ २०७९

काठमाडौं । ककनीको हाइटेन्टसन लाइनमा चढेका माइला भनिने प्रेमबहादुर बिकको नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार गरेको छ ।

बेलकोटगढी १३ नम्बर निवासी उनी शनिबार बिजुलीको पोलबाट तारमा चढेर दुनियाँलाई नै चकित मात्र हाेइन हायलकायल नै पारिदिए ।

पहिलेदेखि नै मानसिक रुपमा समस्यामा रहेका बिकलाई करिब ९ घण्टापछि सेनाको टोलिले सकुशल उद्धार गरेको थियो ।

बिजुलीकाे तारमा झुण्डिएका उनलाई झार्नको लागि प्रहरीले विभिन्न लोभ देखाएको थियाे । प्रहरीले उनलाई लोभ्याउन मासु, भात र पानी देखायो । त्यसपछि त्यो पोको पारेर एउटा डिलमा राखिदियो । खानेकुरा देखेपछि प्रेमबहादुर खम्बा हुँदै खाना भएकाे ठाउँ झरे । प्रहरीले खाना खाइसक्ने बेलामा घेरा हालेर नियन्त्रणमा लिने योजना बनाएको थियो । तर उनी खानाको पोको बोकेर फेरि पोल हुँदै तारमा चढिहाले । 

त्यसपछी उनी बिजुलीको नाङ्गो तारमा समातेर झुण्डिरहे । झुण्डिन पनि केहीबेर हाेर ! उनी झण्डै ९ घण्टासम्म तारमा झुण्डिएका थिए । उद्धारका त्यहाँ प्रहरी र स्थानीयवासीले निरन्तर फकाउँदा पनि उनी तल झरेनन् । 

बिहान १० बजे उनी बिजुलीको पोलबाट तारमा चढेका थिए । त्यो समयमा तारमा करेन्ट प्रवाह भएको थिएन, पछि स्थानीयले प्राधिकरणमा खबर गरेर विजुली नछोड्न आग्रह गरेका थिए ।  

बिहान १० बजे बिजुलीको पोलमा चढेर तारैतार यात्रा थालेका विकले दिनभर सबैको ध्यान खिचेका थिए ।  पोलमा चढेपछि नेपाल विद्युत प्राधिकरणले त्रिशुली ३ ए को उत्पादन नै बन्द गरेको थियो । उत्पादन बन्द हुँदा देशका विभिन्न स्थानको विद्युत आपूर्ति बन्द भएको प्राधिकरणले जानकारी दिएको छ । 

यसका साथै प्रतिघण्टा १० लाख घाटा भएको बताइएको छ । १० घण्टामा करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणको भनाइ छ ।

विक पोलबाट चढेर तारतारै हिँडिहेका दृष्य सामाजिक सञ्जालमा भाइरल भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाले उनलाई प्रसारण लाइनबाट ओराल्ने कोशिस गर्दा पनि असफल भएका थिए । साढे ६ बजेतिर नेपाली सेनाको उद्धार टोली पुगेपछि उनलाई भुइँमा झारिएको थियो ।

काठमाडौँबाट हेलिकप्टरमा गएको सेनाको विशेष फौज बाहिनीबाट खटिएको तालिमप्राप्त टोलीले उनलाई उद्धार गरेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।

 प्रहरीका अनुसार उनी मानसिक रोगी भएको जानकारी आएको र थप अनुसन्धान भइरहेको छ ।