लमजुङ । लमजुङ कारागार बेसीसहरको सुरक्षामा खटिएको नेपाली सेना फिर्ता भएको छ ।
विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमका बेला कारागार निगरानीमा खटिएको नेपाली सेनाको टोली संक्रमण जोखिम सकिएसँगै फिर्ता भएको हो ।
दुई वर्षअघि कारागारको सुरक्षा दिँदै आइरहेका नेपाल प्रहरीलाई कोरोना भाइरसका कारण अन्यत्र खटाइएपछि सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको थियो । सेना फिर्ता भएसँगै हाल कारागार निगरानीको जिम्मा पुनः नेपाल प्रहरीले लिएको छ ।
तत्कालीन समयमा कोरोना संक्रमण जोखिम बढेसँगै भारतसँगको सीमा नाकामा हुने भिड नियन्त्रण तथा क्वारेन्टिनको सुरक्षामा प्रहरी केन्द्रित भएकाले सरकारको निर्णयअनुरूप कारागार सुरक्षाका लागि सेनालाई दिइएको थियो । लमजुङबाहेक अन्यत्र जिल्लामा पनि नेपाली सेनाले कारागार निगरानीको जिम्मा लिएको थियो ।
जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम कारागारको बाहिरी सुरक्षा सेनाले गर्दै आए पनि आन्तरिक व्यवस्थापन र अत्यावश्यक काम भने प्रहरीले नै गर्दै आएको थियो । सेनाको निगरानीमा रहेका बेला पनि कारागारमा रहेका कैदीबन्दीलाई अदालत, अस्पताल लैजाने ल्याउने, भेटघाटको व्यवस्थापन गर्ने काम प्रहरीले नै गर्दै आएको हो ।
३५ जनाको क्षमता रहेको जिल्ला कारगारमा हाल सात महिला र ९३ जना पुरुष गरी एक सयजना कैदीबन्दी छन् ।