काठमाडौँ – शहरी विकास मन्त्री रामकुमारी झाक्रीले जिम्मेवारी निर्वाह गर्न नसकेको आरोप लगाएर करिव एक महिना अघि शहरी विकास तथा भवन निर्माण विभागमा उप–उपमहानिर्देशक रहेका ई. रामचन्द्र दंगाललाई मन्त्रालयमा सरुवा गरेकी थिइन । उनै दंगाललाई पुन २०७९ जेठ १६ गते विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । २०७८ असोज २२ गते मन्त्री झाक्रीले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै कर्मचारी सेटिङमा रेकर्ड नै बनाएकी छिन ।
२०७८ कात्तिक २८ गते विभागका तत्कालीन महानिर्देशक नवराज प्याकुरेलाई हटाएर पद्मकुमार मैनालीलाई लगिएको थियो । सात महिना नबित्दै मन्त्री झाक्रीले यसअघिका महानिर्देशक पदमकुमार मैनालीलाई हटाएर दंगाललाई महानिर्देशकको जिम्मेवारी दिएर पठाएसँगै मैनालीलाई भने शहरी विकास महाशाखामा थन्क्याइएको छ ।
उपमहानिर्देशकबाट मन्त्रालयमा तानिएका दंगाललाई एक महिनाको बिचमा विभागको महानिर्देशक बनाएर पुरस्कृत गर्न मन्त्री झाक्रीलाई दवाव र के बाध्यता आइप¥यो भन्ने विषयले मन्त्रालयमा भने खैलाबैला मच्चिएको छ । मन्त्री झाक्रीको व्यवहारबाट कर्मचारीहरु भने जिब्रो टोक्न थालेका छन् । मन्त्री झाक्रीले मन्त्रालयका कर्मचारीलाई निजामती सेवा ऐन विपरीत व्यक्तिगत कम्पनी जसरी आफूलाई मन लागेको समयमा सरुवा गरेर कानूनको धज्जी उडाएको आरोप पीडितहरुले लगाएका छन ।
त्यसो त मन्त्री झाक्रीले २०७८ मङ्सिर दोस्रो साता मन्त्रालयका तत्कालीन सचिव डा.रमेश प्रसाद सिंहलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्तमा समूहमा सरुवा गरेर मणिराम गेलाललाई सचिवमा सरुवा गरेर ल्याएकी थिइन । सचिव गेलाललाई करिवा चार महिना पनि मन्त्रालयमा टिक्न नदिएर पुन सिंहलाई नै २०७८ चैत पहिलो साता शहरी विकास मन्त्रालमै भित्र्याएकी थिइन । सचिव सिंहको सेटिङ भत्काउने नाममा मन्त्री आफंैले सरुवा गराएर पठाएका सिंहलाई मन्त्रालयमा स्वागत गर्दा कति पनि लज्जाबोध गरिनन् ।
त्यस्तै, मन्त्री झाक्रीले आफनै रोजाइमा मैनालीलाई करिवा सात महिना अगाडि विभागमा महानिर्देशकको जिम्मेवारी दिएर पठाएकी थिइन । आफ्नै निर्णयमा अडिन मन्त्री झाक्रीलाई के विषयले बाधा गरेको छ भन्ने यी माथिका घटनाले पुष्टि गरेक छ । यति छिटो र हतारमा सचिव, विभागको महानिर्देशक परिवर्तन गर्दा कर्मचारीको मनोवल त गिरेको छ नै विकास निर्माणमा समेत सिधा असर पुगेको गुनासो कर्मचारीले गरेका छन । मन्त्री झाक्री विकास भन्दा पनि आफूले कसरी शुभलाभ प्राप्त गर्ने भन्ने एक सूत्रीय अभियानमा लागेको उललेखित तथ्यले पुष्टि गरेको छ ।
शहरीमा स्वास्थ्य मन्त्री हावी !
शहरी विकास मन्त्रालयमा स्वास्थ्य मन्त्री विरोध खतिवडा हावी भएको चर्चा चुलिएको छ । हालै विभागका नव नियुक्त महानिर्देशक दंगाल स्वास्थ्य मन्त्री खतिवडाका स्वास्थ्य सल्लाहकार डा. रमेश ढकालको बहिनी ज्वाइँ हुन् । यस्तै उनी पूर्व सांसद, लेखक तथा पत्रकार नारायण ढकालको समेत ज्वाँईं रहेको बताइएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र स्वास्थ्य मन्त्री खतिवडाको भित्री योजनामा मन्त्री झाक्रीले दंगाललाई महानिर्देशकको जिम्मेवारी दिएको स्रोत बताउँछ । दंगाल विभागको महानिर्देशक भएसँगै मन्त्रालयका सचिव सिंहको समूहले भने निकै अप्ठयारो महसुस गरेको बताइएको छ ।
भरखरै विभागबाट हटाइएका मैनाली, नवनियुक्त महानिर्देशक दंगाल, चक्रवर्ती कण्ठलगायतको समूह नै बनाए सचिव सिंहविरुद्ध लामो समयदेखि सक्रिय रहेको बताइन्छ । जसका कारण कमिशनमुखी, विवादस्पद भूमिकामा रमाउने सचिव सिंहको समूहमा रहेका कर्मचारीहरुले आफूहरुलाई काम गर्न सजिलो पर्नेगरी सहसचिवद्वय नवराज प्याकुरेल वा कुमार घिमिरेमध्ये एकजनालाई विभागको महानिर्देशक बनाउन मन्त्री झाक्रीलाई सुझाव दिंदै आएको बताइन्छ । तर, मन्त्री झाक्रीले मन्त्रालयका कर्मचारीको सुझावलाई अटेर गर्दै पार्टीको ठाडो निर्देशनमा दंगाललाई नियुक्ति गरेपछि मन्त्रालयमा थप भाँडभैलो मच्चिने भएको जानकारी हुन आएको छ । साँघु साप्ताहिकबाट