काठमाडौं । देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागिएको छ ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद आशाकुमारी विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले शान्ति सुरक्षा कायम हुन नसकेको स्पष्ट भएको बताइन् ।
‘बलात्कार र हिंसाका घटना टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब राजीनामा दिनुपर्छ,’ उनले भनिन्, ‘बालिका र किशोरी बलात्कृत भइरहेका छन् ।
रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भयो । यसरी अशान्ति टुलुटुल्ती हेरेर बस्ने गृहमन्त्रीले अब नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।’
यसैगरी एमाले सांसद खगराज अधिकारीले देशकै ठूलो त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म तालाबन्दी हुनुमा गृहमन्त्री खाँण दोषी भएको आरोप लगाए ।
शून्य समयमा बोल्दै उनले गृहमन्त्री खाँणको ठाडो निर्देशनमा त्रिविमा तालाबन्दी गरिएको आरोप लगाएका हुन् । आफैं तालाबन्दी गर्न लगाउने अनि सुशासनको कुरा गर्न सुहाउँदै भन्दै उनले आपत्ति जनाए ।
त्रिविमा नेविसंघले तालाबन्दी गर्दा दैनिक प्रशासनिक काममा समस्या हुँदै गएको छ ।