काठमाडौं । यतिबेला सदनदेखि सडकसम्म सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने विषयमा आर्थिक चलखेल भएको भन्दै विरोध भएकाे छ ।
ठेकेदार छनोट, इम्बोस्ड नम्बर प्लेटको गुणस्तर, यस सम्बन्धमा सर्वोच्चले गरेको फैसला, व्यवस्थापन तथा इम्बोस्ड नम्बर प्लेट राख्नैपर्ने नराखे जरिवाना गर्ने भनेर सरकारले जारी गरेको धम्कीपूर्ण सूचनालाई आधार मान्दै अनियमितताको आशंका जन्मिएको हो ।
एमाले नेता भीम रावलले सरकारले सवारीसाधनमा जबरजस्ती एम्बोस्ड नम्बर राख्न लगाएर गलत निर्णय लाद्न खोजेको आरोप लगाएका छन् ।
संसारका विभिन्न देशले कालो सूची राखेको कम्पनीलाई एम्बोस्ड नम्बर राख्न ठेक्का दिनु अर्को शंकास्पद रहेको उनको भनाइ छ ।
संसदमा बोल्दै नम्बर प्लेटमा देवनागरी अंक र अक्षर नराखी अंग्रेजी अक्षर राख्ने गरेको र निकै कम्जोर समेत रहेको उनको भनाइ छ । पछिल्लो एक वर्षमा चार हजार सवारी साधनमा एम्बोस्ड नम्बर प्लेट राखेकोमा १५ सय फुटेको उनले बताए ।
इम्बोस्ड नम्बरको गुणस्तर र त्यसका नाममा लिइने नागरिकको व्यक्तिगत विवरणको सुरक्षाका विषयमा पनि गम्भीर बन्न आग्रह गरे । ‘विदेशी कम्पनीको हातमा व्यक्तिको जैविक सम्पूर्ण विवरण जाने भएको छ । त्यो विवरणले हाम्रो सुरक्षामा के असर गर्छ ?’ उनको प्रश्न थियो ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्तापक्षकै सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयमा पुनरावलोकन गर्न सरकारलाई आग्रह गरे ।
सांसद थापाले इम्बोस्ड नम्बर प्लेटका नाममा नागरिकले पाइरहेको सास्तीलाई महसुस गर्न सरकारसमक्ष आग्रह समेत गरे ।
यसैबीच सवारी साधनको इम्बोस्ड नम्बर प्लेट जबरजस्ती लाद्न खोजेको भन्दै नेकपा एमाले निकट युवा संघ विरोध प्रदर्शनमा उत्रिएको छ
नम्बर प्लेट जडानमा अस्वाभाविक मूल्य र सास्तीपूर्ण सरकारी रवैया भएको भन्दै उसले प्रदर्शन गरेको हो । युवा संघ नेपालले यातायात साधनको इम्बोस्ड नम्बर र महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा प्रधानमन्त्री शेरबहबहादुर देउवाको परिवारकै मिलेमतोमा नीतिगत भ्रष्टाचार भएको आरोप लगाएको छ ।
मंगलबार विरोध प्रदर्शनलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य समेत रहेका युवा संघका अध्यक्ष किरण पौडेलले प्रधानमन्त्री देउवा पत्नी आरजुका भाइ भूषण राणाको सेटिङमा यो खेलोमेलो भइरहेको आरोप लगाए । उनले इम्बोस्ड नम्बर प्लेट सम्बन्धी काम गर्ने विदेशी कम्पनीको नेपाली एजेन्ट नै भूषण राणा रहेको भन्दै सत्य तथ्य बाहिर ल्याउन आग्रह समेत गरे । पौडेलले एक महिनाभित्र इम्बोस्ड नम्बर जडान गरे पनि नगरे पनि ९५प्रतिशत भुक्तानी सो कम्पनीलाई दिन लागिएको भन्ने के हो भन्दै प्रश्न गरे ।
अध्यक्ष पौडेलले भारतबाट आयात हुने स्यानिटरी प्याडमा ९० प्रतिशत छुट दिने बजेटको नीतिगत व्यवस्थामा पनि प्रधानमन्त्रीका पुत्र जयवीर सिंह देउवा,अर्थमन्त्री जनार्दन शर्मा र विना विभागीय मन्त्री उमेश श्रेष्ठको सेटिङ रहेको आरोप पनि लगाए ।
देउवापुत्रले सो व्यवसाय गरिरहेको र नेपालका स्यानिटरी प्याड उद्योगलाई धराशायी बनाउन प्रधानमन्त्री परिवारबाटै नीतिगत भ्रष्टाचार भएको पौडेलले आरोप लगाए ।
यसैबीच यातायात व्यवस्था विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने कुरा नगरेको स्पष्ट पारेको छ ।
मंगलवार पत्रकार सम्मेलन गर्दै विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सूचना जारी नगरिएको बताएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक नमराज घिमिरेले विभागले आफ्नो नियमित कार्यतालिका अनुसार सूचना प्रकाशित गरेको बताएका छन् ।