काठमाडौं, जेठ २४
काठमाडौं महानगरपालिका–१५ डल्लु डेरा गरी बस्ने ओखलढुङ्गा चिसखुंढी गाउँपालिका–६ घर भएकी कल्पना आले मगरको कोठाबाट सुन चाँदीका तयारी गहनाहरु चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने धादिङ थाक्रे गाउँपालिका–७ घर भएका ३३ वर्षीय बिजय लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
चोरी भएको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले चोरीमा संलग्न लामालाई काठमाडौं महानगरपालिका–१५ सिद्धार्थचोकबाट पीडितको कोठाबाट चोरी भएको सुनचाँदीको जस्तो देखिने गहना र ताला फोड्ने प्रयोग हुने छिनो जस्तो देखिने फलामको रड सहित फेला पारी पक्राउ गरेको हो । उनको साथबाट १ तोलाको सुनको जस्तो देखिने बेरुवा औठी १ थान, १ तोलाको सुनको जस्तो देखिने रिङ १ जोर, ३० लालको सुनको जस्तो देखिने लकेट १ थान, १ तोलाको पत्थर सहितको चाँदीको जस्तो देखिने औठी १ थान समेत प्रहरीले बरामद गरेको छ । उनी उपर चोरी गर्न नहुने कसूरमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।