काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सरकारमा सहभागी मन्त्री फेरबदलका विषयमा निरीह बनेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाका कारण उनी निरीह बन्नु परेको हो ।
सुरूदेखि नै माधवकुमार नेपालको पार्टी एकीकृत समाजवादीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हावी देखिएका छन् । समाजवादी गठन भएकै बेला प्रचण्डले नेकपा एकीकृत समाजवादी सानोतिनो दु:खले निर्माण नभएको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्ति घुमाउरो नभै प्रष्ट रुपमा एमाले फुटाउन उनले माधव नेपाललगायतको जोडबलमा ठूलै मिहेनत गरेको बताएका थिए ।
यसैबीच आइतबार समाजवादीको सचिवालयले सरकारमा रहेका चार मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । यो निर्णय पहिलेकै सहमति मुताविक भएको भनिएको छ ।
आफ्नो पार्टीबाट मन्त्री बनेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय समाजवादीले गरेको थियो । स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गर्ने निर्णय थियो ।
जसका ठाउँमा क्रमशः जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानीप्रसाद खापुङ (स्वास्थ्य मन्त्रीमा बढुवा) र हीराचन्द्र केसी (राज्यमन्त्री) का नाम उक्त पार्टीले पठाएको थियो । निर्णय कार्यान्वयन गर्न भन्दै खल्तीमा लिस्ट लिएर बालुवाटार पुगेका अध्यक्ष नेपाललाई प्रधानमन्त्री देउवाले संभव छैन भन्दै फर्काई दिएका छन् ।
सोमबार नै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गरेसँगै मन्त्री फेरबदलको प्रक्रिया तत्कालका लागि स्थगित भएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।
२४ घण्टा नवित्दै नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले गरेको निर्णय उल्टिएको छ ।
यता मन्त्रीहरुले नै एकीकृत समाजवादीको सचिवालयको उक्त निर्णय रोक्न अर्का सत्ता साझेदार दल माओवादी अध्यक्ष प्रचण्डदेखि प्रधानमन्त्री देउवासम्मलाई गुहारेको चर्चा समेत व्यापक छ ।
ती मन्त्रीले बालुवाटार पुगेर पद थमौतीको अनुनय गरेको बालुवाटार स्रोतले बताएको छ । मन्त्रीहरुकै अनुनय विनय र धम्कीका कारण प्रधानमन्त्री देउवाले एकीकृत समाजवादी अध्यक्ष नेपालको सिफारिस अस्वीकार गर्नुपरेको भन्ने छ । समाजवादीका मन्त्रीहरुले प्रचण्ड र देउवालाई पद जाेगाई दिन हारगुहार नै गरेका थिए ।
यससँगै सधैँ मानसम्मानकाे दुहाइदिने माधव नेपाल गठबन्धनमा अपमान सहेर बस्नुपर्ने एक निरीह पात्र झैँ देखिएका छन् । उनी आफैँले बनाएका मन्त्रीसमेतबाट अपमानित भएका छन् ।
यता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वसहमति अनुरुप नै पार्टीका मन्त्रीहरुलाई फेरबदल गर्न लागेको बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताउँदै विश्वको कुनै तागतले पार्टीले गरेको निर्णय फेरबदल गर्न नसक्ने टिप्पणी गरेका छन् ।
यता मन्त्रीको लागि सिफारिस भएकाहरू भने पार्टीको निर्णय कार्यान्वयन हुनेमा अझै विश्वस्त छन् । पर्यटन मन्त्रीमा पार्टीबाट सिफारिस भएका एकीकृत समाजवादीका सचिव समेत रहेका जीवनराम श्रेष्ठले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने बताएका छन् ।