बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आइतबारको बिदा खारेज अवज्ञा कि ! बढ्यो विदेशी मुद्रा सञ्चिति ?

मंगलबार, जेष्ठ २४ २०७९

काठमाडौं । विदेशी मुद्राको सञ्चिति घट्दै गएको भन्दै एक महिना अघि सरकारले सातामा दुई दिन बिदाको प्रावधान राख्यो । त्यसको एक महिना नहुँदै सरकारले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको छ ।

वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो । कार्यालय समय जेठ १ देखि बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म तय गरिएको थियो ।

तर हप्तामा दुई दिन बिदा दिने निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेको थियो । त्यस्तै संघीय सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गरे पनि स्थानीय तहहरूले भने अवज्ञा गर्दै आएका थिए ।

यस्ताे  प्रावधानले सेवाग्राहीलाई झनै समस्या पारेको, इन्धन खपतका लागि भनेर दिइएको विदामा कर्मचारी सरकारी गाडीमा पारिवारिक भ्रमणमा निस्किएको लगायतका कारणले सरकार उक्त निर्णयबाट पछि हट्न वाध्य बनेको छ ।

इन्धन खपतको नाममा दुई दिन बिदा दिएको भए पनि त्यो प्रभावकारी देखिएन । जसकाकारण सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सातामा दुई दिने बिदा दिने निर्णय खारेज गरेको छ ।

जेठ १ बाट सुरु भएको सातामा दुई दिन बिदा दिने निर्णय असार १ गतेदेखि खारेज गर्ने निर्णय सरकारले गरेको हो ।  

दुई दिन बिदा दिने निर्णय सोमबार मात्र सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता रामबहादुर शाही, तेजकुमार लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले आवश्यक तयारीबिनै हप्तामा २ दिन बिदा दिने निर्णय गरेकाले उक्त निर्णय रोक्न माग गर्दै रिट दायर गरेका छन् ।