बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बजेटले कृषि उत्पादन र व्यवस्थापनलाई जोड दिएको छ: सभापति सुमार्गी 

आइतबार, जेष्ठ २२ २०७९

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ औँ बार्षिक साधारण सभामा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले वीरगञ्जलाई देशको आर्थिक हबको रुपमा व्यवस्थित गनुपर्नेमा जोड दिएका छन् ।

उनले उद्योग वाणिज्य संघ बीरगञ्जले आफू मध्यमाञ्चलको अध्यक्ष हुँदादेखि नै गरेको माया अहिले पनि कायम रहेको भन्दै आभार समेत व्यक्त गरे ।

शनिबार अर्थमन्त्री जर्नादन शर्मा प्रमुख अतिथी रहेको कार्यक्रममा सुमार्गीले सरकारले ल्याएको बजेट कस्मेटिक तर उत्पादनमुखी बजेट भएको बताए । उनले भने, ’बजेटले कृषि उत्पादन र व्यवस्थापनलाई जोड दिएको छ, अब उत्पादनसँग, कृषिसँग र जमिनसँग जोडिनुपर्छ भन्ने हाम्रो भनाइ छ ।’

व्यापार घाटा घटाउन सरकारले उत्पादन तथा वितरणमुखी बजेटमा ध्यान केन्द्रित गरेको उनले बताए । उनले भने, ‘हामीले कृषिमा योजना गरिरहेका छौँ, अर्थमन्त्री जीसंग पनि विगतमा मेरो यस विषयमा छलफल भइरहेको छ, विगत केही समयदेखि कृषि उद्यम केन्द्रबाट हामी १०० किसान अभियान सञ्चालन गरिरहेका छौँ, त्यो अभियानमा सानो कृषि औजार कारखानादेखि, बिउ उत्पादन ,वातानुकुलित हाइटेक नर्सरी बनाइरहेका छौँ, बजेटले आधुनिक कृषिलाई जोड दिएको छ, यसलाई हामी सरकार र निजी क्षेत्र मिलेर कार्यान्वयनमा जोड दिनुपर्छ ।’ उनले सरकारले अहिलेको बजेटमा निजी क्षेत्रलाई सहयात्रीको रुपमा लैजान खोजेको र यो सकारात्मक हुने बताए।

सभापति सुमार्गीले व्यापार घाटा घटाउने गरी सरकारले उत्पादनमुखी बजेट ल्याएको र यसले कृषि उत्पादनलाई जोड दिएको बताए । विगतमा सरकारले गर्ने खर्च योजना अनुसार हुन नसकेको बताउँदै समग्र विकासका लागि यो सरकारले यस विषयमा ध्यान दिनुपर्ने उनले बताए ।