अर्घाखाँची । जिल्ला समन्वय समिति अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध भएका छन् ।
सत्तारुढ पाँच दलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
कुल मतदातामध्ये दुई तिहाई एमालेको पक्षमा भएपछि गठबन्धनबाट उम्मेदवारी दर्ता नै गरिएन ।
जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका नेता जिवनारायण कोइराला निर्विरोध चयन भएका छन् । कोईराला नेकपा एमाले प्रदेश कमिटीको सदस्य समेत हुन् ।
यसैगरी उपप्रमुखमा एमाले नेतृ लक्ष्मी शर्मा ज्ञवाली निर्वाचित भइन् । उनी तत्कालीन नेकपा माओवादी केन्द्रमा थिइन्, नेकपाको निरन्तरतासँगै उनी एमालेमै रहेकी हुन् ।
यसैगरी समन्वय समितिको खु्ल्ला सदस्यमा नेकपा एमालेका युवा नेताहरू पाणिनी ७ का कमल घिमिरे, भुमिकास्थान ८ का झुपलाल खनाल र सन्धिखर्क ७ का लक्ष्मण कँडेल निर्वाचित भए ।
महिला सदस्यमा एमाले नेतृ टुल्कादेबी आचार्य, मालारानी ४, डालकुमारी भण्डारी, शितगंगा १०, सीता आचार्य, मालारानी १ चयन भएका छन् । दलित–अल्पसंख्यक सदस्य पदमा मिना बिसी परियार चयन भएका छन् ।