बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

 अझै सार्वजनिक भएन प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण 

शुक्रबार, जेष्ठ २० २०७९

काठमाडौं । सरकार बनेको झण्डै एक वर्ष पुग्न लाग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छैन ।

गत २९ असारमा प्रधानमन्त्री बनेका देउवा र २५ सदस्यीय मन्त्रीमण्डलका सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छैन ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८, भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले नियुक्त भएको दुई महिना (६० दिन) भित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।

सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने कानुन नभए पनि यसअघिका प्रधानमन्त्री र मन्त्रीहरुले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका थिए । सार्वजनिक पदधारण गरेका र कर्मचारीले सरकारलाई सम्पत्ति विवरण बुझाउनुपर्छ ।

उक्त विवरण गोप्य रहने भए पनि आर्थिक पारदर्शिताका लागि भन्दै प्रधानमन्त्री र मन्त्रीहरू सम्पत्ति विवरण सार्वजनिक गर्ने गरिन्छ  ।

सार्वजनिक पदमा रहेका व्यक्तिहरू सदाचारी हुनुपर्ने र आर्थिक पारदर्शी हुनुपर्ने परिकल्पना गर्दै कानुनमै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भनिएको हो।

प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालय आफैंले राख्ने गरेको छ। यसबाहेक प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरणको अभिलेख राख्छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी नेपाललगायत राजनीतिक दलको सहभागिता छ ।

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका केही मन्त्रीहरू (प्रधानमन्त्रीसहित) ले मात्र सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । ०७४ मा गठन भएको सरकारका मन्त्रीको सम्पत्ति विवरण समय भित्रै सार्वजनिक गरिएको थियो । 

ओली मन्त्रिपरिषद्‍मा दोस्रो पटक मन्त्री बनेका शेरबहादुर तामाङले भने दुबै पटक सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । मन्त्री बन्दा र सरकारबाट बाहिरिँदा गरी दुई पटक सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्री प्रदीपकुमार ज्ञवाली हुन् ।