काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आ.व. २०७९/८० को बजेटले समयको मागलाई सम्बोधन गरेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै उनले व्यापार घाटा कम गर्न उत्पादकत्व बढाउनुपर्ने उल्लेख गर्दै बजेटमा उत्पादनको स्पष्ट दृष्टिकोण प्रस्तुत भएको बताए ।
थापाले बजेटले उपयुक्त प्राथमिकता, गती र दृष्टिकोण समातेको बताउनुभयो । उहाँले कृषिलाई प्राथमिकता दिएर स्रोत विनियोजन पनि ठिक ढंगले भएको उल्लेख गरे ।
सांसद थापाले बजेटमा नीजि क्षेत्रको संस्थागत मागहरुलाई सम्बोधन गरिनुले अर्थतन्त्रलाई थप चलायमान बनाउने बताए ।
बजेटले पेट्रोलियम पद्धार्थको निर्भरता घटाउने सन्दर्भमा आवश्यक लक्ष्य लिएको बताउँदै भने, ‘पेट्रोलियम पद्धार्थको निर्भरता घटाउने कुराको सन्दर्भमा जुन लक्ष्य लिनुपर्ने थियो, यसले त्यसलाई पनि पक्रेको छ । त्यसैले यो सिद्धान्तको हिसाबले पनि ठिक छ । प्राथमिकताको हिसाबले पनि ठिक छ । यो समयले जे माग गरेको छ, त्यसलाई अर्थमन्त्रीजीले बुझेर ल्याउनु भएको छ, म यसको स्वागत गर्छु ।’