काठमाडौं । आज जेठ १९, नेपालीहरु यस दिनलाई कालो दिनको रुपमा लिने गर्दछन् ।
आजकै दिन २०५८ सालमा तत्कालीन राजा वीरेन्द्रसहित वंश नाश भएको थियो । यही दिनको सम्झनास्वरुप नेपालीहरुले आजको दिनलाई कालो दिनका रुपमा लिने गरेका छन् ।
नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ । हरेक महिनाको तेस्रो शुक्रबार दरमाबार चल्ने भोजमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमारी श्रुती, राजकुमार निराजन, अधिराजकुमारी शान्ति, शारदा, शाहज्यादी जयन्ती, कुमार खड्गविक्रम, धीरेन्द्रको मृत्यु भएको थियो ।
घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरख शमशेर र केतकी चेस्टर घाइते भएका थिए ।
तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले उक्त घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, जनताले भने उक्त प्रतिवेदनमाथि अहिलेसम्म पनि विश्वास गरेका छैनन् ।
पटक पटक सरकारको नेतृत्व गर्नेहरुले हत्याकाण्ड भएको नारायणहीटी दरबारको प्रांगणमा उभिएर सत्य तथ्य बाहिर ल्याउने आश्वासन दिन्छन् । तर अहिलेसम्म पनि कुनै कदम चालिएको छैन । जसका कारण यस दिन नेपाली इतिहासको एक कहालीलाग्दो दिनका रुपमा चित्रित भएर रहिरहेको छ ।