काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन्द्र शाह (बालेन) र मुख्य दुई दलका शीर्ष नेतासँगको भेटका तस्वीर एकाएक सार्वजनिक भए ।
मेयरमा निर्वाचित हुनुअघि नै खिचिएको भनिएको एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको तस्वीर अनि बुधबार मात्रै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटारमा खिचिएको बालेनका तस्वीर ।
देउवासँग नवनिर्वाचित मेयर शाहले बुधबार भेट गरे । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवासँगको भेटका लागि शाह बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री देउवाले शाहलाई महानगरको मेयर भएकोमा बधाई दिएका थिए । साथै उनले २४ सै घण्टा शाहलाई साथ रहने आश्वासन समेत दिए । त्यतिमात्र कहाँ होर देउवाले शाहले मेयर जितेर चमत्कार गरेको पनि देउवाले बताए ।
यसैगरी बालेनले महानगरको अन्तिम मतपरिणाम नआउँदै बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग पनि भेट गरेका थिए । उक्त भेट बारे केही दिन अघि मात्र जानकारी गराइएको थियो । दुवैले उक्त भेटघाट गोप्य राखेका थिए । एकाएक उनीहरु बीचको भेटको तस्वीर सार्वजनिक भएपछि कौतुहलता समेत पोखिएको छ । यसैलाई एकपक्षिय देखिने भएकाले यसलाई चिर्न पनि बालेनले देउवासँग अर्को भेट गरेका हुनसक्छन् ।
यी तस्वीरसँगै बालेनले के म्यासेज दिन चाहेका हुन् ? स्वतन्त्र रुपमा निर्वाचित शाहले सबैकाे समर्थन जुटाएर अघि बढ्ने रणनीति लिएका हुन् या वडाका अध्यक्षहरुलाई साइजमा ल्याउन यसो गरेका हुन् ? ट्रीकमा चतुर बालेनले कुनै न कुनै रणनीति लिएरै यसो गरेका हुनसक्ने अनुमान गरिएको छ ।
हुन त पदभार सम्हालेलगत्तै शाहले प्रधानसेनापति महारथि प्रभुराम शर्मासँग जंगीअड्डा नै पुगेर भेटवार्ता गरेका थिए । धेरैले यो भेटलाई चासो र कौतुहलताका साथ पनि हेरेका छन् । तर, उनीहरु दुई बीचको भेटवार्ताका क्रममा महानगरपालिका र नेपाली सेनाबीच सहकार्य गरेर अघि बढ्ने कुरामा सहमत भएको भनिएको छ ।
भेटमा खिचिएका यी दुई तस्वीर ( ओली र देउवासँगका) बालेनले किन सार्वजनिक गरे होलान् भन्ने कुरा चलाखीपूर्ण रुपमा उनले एउटा ट्रीकको प्रयोग गरेको हुनसक्छ ।
महानगरको पहिलो कार्यपालिका बैठकमै पार्टीबाट निर्वाचित वडाध्यक्षबाट घेरिएर पेलिएपछि उनले यसो गरेका हुन् भन्नेहरूकाे पनि जमातको कमी छैन । उनीहरुकै भाषामा ‘यो पाँच बर्ष बालेनले यी पार्टीहरुलाई थर्काएर, फकाएरै भएपनि आफ्नो लक्ष्य प्राप्ति गर्नुछ । ‘
काठमाडौं महानगरको पहिलो कार्यपालिका बैठकमै उनी वडाध्यक्षहरुको चेपुवामा परेका थिए । शपथ ग्रहणकै दिन सोमबार अपरान्ह मेयर शाहले नवनिर्वाचित वडाध्यक्षहरू र उपमेयर सम्मिलित बैठक राखे । उक्त बैठक मेयर शाहकै चाहनामा लाइभ समेत गरिएको थियो ।
बैठकमा सबै वडाध्यक्षाहरुले धारणा राखेपछि कार्यकारी अधिकृतले बैठकका निर्णय वाचन गरिदिँदा वडाध्यक्षहरूले आपत्ति जनाएका थिए । वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले पार्टीगत कुरा गरेर समिति बनाउन खोजिएको भन्दै कार्यपालिका सदस्यहरूको अपमान भएको भन्दै आपक्ति नै जनाए । उनले मेयर साहको ध्यानाकर्षण गराएका थिए । वडाध्यक्षहरुले मेयर शाहलाई पूर्वपरामर्श गरेर बैठक बसाल्न पनि सुझाव दिएका थिए । याे उनीहरुको बालेन प्रतिको व्यङ्य थियो । हुन सक्छ, अहिलेसम्म कार्यकारीको भूमिकामा नरहेका बालेनमा केही विधिगत प्रक्रियाका कमीकमजोरी हुन सक्छन् । त्यस कुरालाई उनले आफ्नो कमजोरी महसुस गर्दै सुधार पनि गर्नुपर्छ । तर, वडाध्यक्षहरुले उनीप्रति सुझाएको सवक कुनै शुभचिन्तक भन्दा पनि पार्टी पराजित, आफू भन्दा धेरै कम उमेर समूहका मेयर/उपमेयरको अन्डरमा रहनु परेको कुन्ठा नै हो भन्छन् बालेनका समर्थकहरु ।
बैठकमा वडाध्यक्षहरुले एजेन्डाभन्दा बाहिरका विषयहरु छलफल नै नगरी नल्याउन पनि सुझाव दिएका थिए । मेयर साहले काठमाडौं महानगरपालिकामा फोहोरमैला व्यवस्थापन गर्नका लागि कार्यदल गठन गर्ने प्रस्ताव अघि सारेसँगै बैठकमा तनाव उत्पन्न भएको थियो । साहले आफ्नो नेतृत्वमा कांग्रेस र एमालेबाट दुई–दुई जना र समाजवादीबाट १ जना सदस्य रहने गरी कार्यदल बनाउने प्रस्ताव गरेका थिए । सोही प्रस्ताव बमोजिम प्रशासकीय प्रमुखले पढेर सुनाए र भोलिपल्ट नै कार्यदलको बैठक बस्ने बताए । त्यसमा रिजालले आपत्ति जनाएका थिए ।
लाइभ हेरेका धेरै सर्वसाधारणले मेयर साहलाई केही वडाध्यक्षले अप्ठेरोमा पार्न खोजेको भनेर टिकाटिप्पणी गरेका छन् । यतिबेला सामाजिक सञ्जालमा उनकाे समर्थन र वडाध्यक्षहरुकाे विराेध देखिन्छ ।
मेयरलाई प्रक्रियागत धेरै कुराको जानकारी नभएर त्यसाे भएकाे हुनसक्छ । कार्यपालिका बैठक प्रावधान अनुरुप नै बस्नु पर्छ । जसरी क्याबिनेटको बैठक बस्छ, त्यसरी नै कार्यपालिकाको बैठक बस्ने गर्छ । त्यसमा मेयरका केही कमीकमजाेरी भए त्यसलाई सच्याएर अघि बढ्नु उपयुक्त्त हुन्छ । समर्थकहरुका अनुसार यसैपनि उनमा खासै कमीकमजोरी नभएपनि अब बालेन विशेष परामर्शका साथ परिपक्क रुपमा अघि बढ्न चाहन्छन् ।
ट्रीकमा निक्कै खप्पिस मानिएका पेशाले ईन्जीनियर बालेनको सानो तिनो प्रयासले देशकै राजधानी जस्तो महानगरमा यसै पक्कै जितेका होइनन् नै । उनी भित्र केही क्षमता देखेरै काठमाडौंवासीले यत्रा भीमकाय पार्टीलाई छाडेर स्वतन्त्र उम्मेदवार बालेनलाई भोट हाले, विजयी बनाए । त्यसबीचमा बालेनले सामाजिक सञ्जाल र युवामाझ लोकप्रिय हुने ट्रीक प्रयोग गरेका थिए । उनी अब पनि नयाँ सुझबुझका साथ संकल्प अनुसारका योजनामा अघि बढ्ने देखिन्छन् ।