काठमाडौं । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम तथा अनुसन्धान केन्द्रका सभापति अरुणराज सुमार्गीले नेपालको सामाजिक–आर्थिक विकासका साथै कृषि क्षेत्रको विकासका निम्ति इजरायलले गरेको सहयोगको सराहना गरेका छन् l
नेपाल र इजरायबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सुमार्गीले नेपाल–इजरायल सम्बन्धलाई थप कसिलो बनाउन कृषि क्षेत्रको उल्लेखनीय भूमिका रहेको बताएका हुन् ।

सुमार्गी आफैपनि कृषि क्षेत्रमा क्रियाशील रहेको र सय किसान अभियान अन्तर्गत नेपालमा कृषि क्रान्ति ल्याउने जिकिरसमेत गरेका छन् l सो अभियानबाट देशभर कृषिको हरेक विद्यामा राम्रो र नमुना १ सय किसान बनाउने र उनिहरुलाई लगानी, प्रविधि,बजार सहित मुल्य श्रृङ्खलाको सबै आयाममा सहयोग गर्ने आफ्नो योजना रहेको सुमार्गीको भनाइ छ ।
इजरायल नेपालबीच कसरी सम्बन्ध अझ प्रगाढ र मज्बुत बनाउन सकिन्छ भन्ने सन्दर्भमा भएको छलफलमा नेपालका लागि इजरायलका राजदुत हनान् गोदारले इजरायल नेपालको विकासको लागि कृषिसँगै अन्य धेरै क्षेत्रमा हातेमालो गरेर अगाडि बढ्न आफुहरु सधै तत्पर रहेको जानकारी दिए । इजरायलले सधै नेपाललाई एउटा असल नियतले सहयोग गर्दै आएको र नेपालले पनि सोहि अनुसार सहयोग गर्छ भन्ने अपेक्षा रहेको पनि उनले बताए ।
समारोहमा कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योगपति, व्यापारी, समाजसेवी, कलाकार, साहित्यकार र वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
इजरायलले नेपाललाई विभिन्न विषयमा विशेषगरी कृषि, शिक्षा, ग्रामीण विकास, जलस्रोत, पर्यटनलगायत क्षेत्रमा अल्पकालीन छात्रवृत्ति प्रदान गर्दै आएको छ भने कृषि व्यवस्थापन, कृत्रिम गर्भाधान, सिँचाइ, बाल्यकालीन शिक्षालगायत क्षेत्रमा निरन्तर सहयोग गरिरहेको छ ।