काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पाँच दलीय गठबन्धनबीच आगामी प्रदेश र संघीय संसद्को निर्वाचनमा पनि तालमेल हुनसक्ने बताएका छन् ।
स्थानीय तह निर्वाचनमा गरिएको तालमेल असफल भएको निष्कर्ष नभएको र प्रदेश र संघीय निर्वाचनसम्मै गठबन्धन दलहरूबीचको तालमेललाई निरन्तरता दिने पहिले नै निर्णय भएको बताए ।
‘तालमेल असफल भयो भन्ने अवस्था छैन । तर, पार्टीको औपचारिक बैठक बसेर समीक्षा गर्न बाँकी छ । समीक्षापछि तालमेल कति सफल र कति असफल भन्न सकिन्छ । यद्यपि, स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेकै बेला संघ र प्रदेशमा पनि तालमेल गर्ने कुरा भएको छ’, श्रेष्ठले भने ।
गठबन्धनमा रहेकै दल नेपाली कांग्रेसले तालमेल सफल र परिणाम सकारात्मक आएको निष्कर्ष निकालेको छ ।
यतिबेला कांग्रेस चुनावी परिणामलाई लिएर हाैसिएकाे छ । तालमेलकै कारण सबैभन्दा बढी स्थानीय तहमा जीत हासिल गर्न सम्भव भएकाे उसलाई हेक्का छ ।
पार्टी प्रवक्ता डा प्रकाशशरण महतले स्थानीय तहको परिणामले संघ र प्रदेशको निर्वाचनमा तालमेलको आधार मजबुत बनेको पनि बताएका बेला नेता श्रेष्ठको पनि तालमेल हुन सक्ने अभिव्यक्ति सार्वजनिक भएको हो ।
७५३ मध्ये एमाले बलियो भएको स्थानीय तहमा गठबन्धन दलहरूबीच तालमेल भएको थियो ।
तालमेलकै कारण अहिलेसम्म नेपाली कांग्रेसले प्रमुखमा ३२१ र उपप्रमुखमा २९५ स्थानीय तहमा जित हासिल गरिसकेको छ भने माओवादी केन्द्रले प्रमुखमा १२० र उपप्रमुखमा १२८ जितेको छ । प्रमुख प्रतिपक्ष दल एमालेले प्रमुखमा २०० र उपप्रमुखमा २२९ जित्दै दोस्रो बनेकाे छ ।