बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अर्जुनधारामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका उम्मेदवार निर्वाचित

आइतबार, जेष्ठ ८ २०७९

झापा । अर्जुनधारा नगरपालिकामा संयुक्त गठबन्धनलाई पछि पार्दै नेकपा (एमाले) का उम्मेदवार बलदेव सिंह गोम्देन तामाङ निर्वाचित भएका छन् ।

तामाङले संयुक्त गठबन्धनको उम्मेदवार नेपाली कांग्रेसकी युवा नेत्री रञ्जिता कार्कीलाई पराजित गरे । नगरप्रमुखमा निर्वाचित तामाङले १९ हजार १६९ मत प्राप्त गरे भने कार्कीले १३ हजार ७४३  मत प्राप्त गरिन् ।

यता उपप्रमुख पदमा समेत एमालेबाट नै खड्गमाया पराजुली निर्वाचित भइन् । उनले १७ हजार ६३७  मत प्राप्त गरिन् । संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का जितेश योञ्जनले नौ हजार ७१  मत प्राप्त गरे। विसं २०७४ मा भएको निर्वाचनमा समेत अर्जुनधारा नगरपालिकामा एमाले नै जीत हासिल गरेको थियो ।

प्रमुख र उपप्रमुख दुवै पद जीत हासिल गरेको एमालेले यो पटक पनि दुवै पद आफैँले सुरक्षित गरेको छ । ११ वटा वडा रहेको यो नगरमा वडा नं १ मा उप्रेन्द्र बस्नेत, २ मा नरेन्द्रकुमार श्रेष्ठ, ३ मा सीताराम भट्टराई, ४ मा अम्बरबहादुर कटुवाल, ५ मा गीताराज खड्का, ६ मा हरिशचन्द्र वास्तोला कांग्रेसबाट निर्वाचित भए । त्यस्तै वडा नं ७ मा एमालेका गोविन्द प्रसाद खतिवडा, ८ मा एमाले कुमारप्रसाद उप्रेती, ९ मा कांग्रेसबाट भीष्म मिश्र, १० मा एमालेका भुपेन्द्र न्यौपाने र ११ मा एमालेबाट नै खगेन्द्र इङ्नाम निर्वाचित भए ।