शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

९ मतको हिसाब नमिल्दा विरोधमा उत्रियो एमाले, राजमार्ग अवरुद्ध

मंगलबार, जेष्ठ ३ २०७९

काठमाडौँ – सर्लाहीको लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व-पश्चिम लोकमार्गमा चक्काजाम गर्दै प्रदर्शन गरेका छन् । लालबन्दी नगरपालिका-८ मा मतपेटिकामा खसेको भन्दा ९ मत कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित भएका हुन् ।

लालबन्दी नगरपालिका-८ स्थित आधारभूत विद्यालय खतिवडा चोकमा रहेको मतदान केन्द्रमा मतदान सम्पन्न हुँदा १,४२७ मत खसेको भनी मुचुल्का उठाइएको भए पनि मत गणना गर्दा १,४१८ वटा मतपत्र मात्रै भेटिएको थियो । ९ वटा मत गायब भएपछि एमालेका कार्यकर्ताहरु राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै चक्काजाममा उत्रिएका हुन् ।

उनीहरुले मतदान अधिकृतविरुद्ध नाराबाजी गर्दै राजमार्ग ठप्प पारेका छन् । लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयले गए राति नै लालबन्दी नगरपालिका-८ मा नेकपा माओवादी केन्द्रका शुक्रबहादुर पाख्रिन वडाध्यक्षमा निर्वाचित भइसकेका थिए । पाख्रिन ४६० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यता एमालेका उम्मेदवार सुवास पाख्रिनले ४४४ मत ल्याएका छन् । अध्यक्षमा निर्वाचित शुक्रबहादुर र निकटतम प्रतिस्पर्धी सुवासबीचको मतान्तर १६ मात्रै रहेको छ । लालबन्दी नगरपालिकाका निर्वाचन अधिकृत विनोदलाल श्रेष्ठले मुचुल्कामा उल्लेख गरिएको भन्दा ९ मत कम देखिएको स्वीकार गरेका छन् । उनले यसबारेमा निर्वाचन आयोगमा लेखेर पठाउने तयारी गरिरहेको बताए ।

९ मत कम भेटिँदा समेत निर्वाचन अधिकृतको कार्यालयले गए राति नै मतगणना सकेर वडाध्यक्षसहित वडा सदस्यहरुको मत परिणाम सार्वजनिक गरिसकेको छ । सो वडामा वडाध्यक्षमा माओवादीले १६ मतले जित निकालेको भए पनि चारै जना वडा सदस्यहरु भने एमालेबाट चयन भएका छन् ।