शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एमालेलाई समाप्त पार्ने प्रयास पूर्ण रूपमा असफल भयो : महासचिव पोखरेल

मंगलबार, जेष्ठ ३ २०७९

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचनमा एमालेलाई समाप्त पार्ने सत्‍ता गठबन्धनको प्रयास पूर्ण रुपमा असफल पारिदिएको बताएका छन् । तर, अपेक्षा गरेजस्तो परिणाम भने प्राप्त नभएको बताए । 

दलीय प्रतिस्पर्धा भएको भए देशमा एमाले सर्वाधिक लोकप्रिय पार्टीको रुपमा स्थापित हुने जनमतले प्रकट गरेको उनको तर्क छ ।

मंगललबार आयोजित मदन–आश्रित स्मृति दिवसमा उनले सरकारले निर्वाचनको प्रारम्भिक चरणमै प्रहरी र कर्मचारी खटाउँदै सेटिङ गरेको आरोप लगाए  । परिणाम आएपछि एमालेले  टिप्पणी नगरेको रुपमा चर्चा भएको भन्दै उनले त्यसको खण्डन गरे । 

परिणाम आउनुअघि देखि नै एमालेले सरकारलाई खबरदारी गरेको बताउँदै उनले सरकार पक्षले नै नेकपा एमालेको प्रभाव भएको स्थानमा निर्वाचन बिथोल्न लागि परेको र मतदाताहरुलाई आफ्नो अधिकार प्रयोग गर्न नदिएको बताए । 
उनले सरकारी ढंगले एकलौटी रुपमा मत पेटिका ओसार्ने काम गरेको र केही स्थानमा मत गणनापूर्व नै मतपेटिका खोलेको पाइएको पनि आरोप लगाए । महासचिव पोखरेलले नेकपा एमाले आउने चुनावमा गठबन्धनलाई पराजित गरेर जनमतका हिसावले मात्रै नभइ परिणामका हिसावले पहिलो पार्टी बन्ने दाबी गरे ।

उनले नेकपा एमालेमाथि मत परिणाम आउन थालेपछि विभिन्न आरोप लगायो भन्ने तथ्यहरु आइरहेको भन्दै एकपटक खटाइसकेका कर्मचारीहरुलाई परिवर्तन गर्नेसम्मका कुराहरु नियोजित रुपमा हुनु, संवेदनशील क्षेत्र भनेका ठाउँहरुमा सुरक्षा निकाय, कर्मचारी र नेतृत्व नै परिवर्तन गर्नु र प्रतिपक्षका कार्यकर्ता र उम्मेदवारहहरुमाथि मात्रै अपहरण गर्ने, सांघातिक रुपमा हमला गर्ने कार्य हुनुले सत्ता गुण्डागर्दीको सहारामा जनमतलाई प्रभावित बनाउन अग्रसर रहेको आरोप लगाए ।

महासचिव पोखरेलले सत्ता गठबन्धनले एमालेको प्रभाव रहेको स्थानमा निर्वाचन बिथोल्न लागिपरेको र सहजै निर्वाचन स्थगित गर्ने प्रकारको प्रवृति देखाएको बताए । उनले चितवनमा प्रहरी प्रशासनको गाडीमा सत्ता पक्षका कार्यकर्ताहरु पुगेर पैसा वितरण गर्ने काम भएको र यसलाई सरकारी पक्षले चासो नदिएको बताए ।

पोखरेलले स्थानीय निर्वाचन प्रचारप्रसारका क्रममा पार्टीका कार्यकर्ताहरुमाथि भएको आक्रमणमा दुई जनाको मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न पनि सरकारसँग माग समेत गरे ।