बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यसरी बिताउनेछन् मोदी लुम्बिनीमा ६ घण्टा

सोमबार, जेष्ठ २ २०७९

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्तीको अवसर पारेर सोमबार लुम्बिनी आउँदै छन् । नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोलि बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मोदी लुम्बिनी आउन लागेका हुन् । 

मोदीको प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अरिन्दम बाग्ची र अनुराग श्रीवास्तव, प्रधानमन्त्री कार्यालयका सहसचिव रुद्रा गौरव श्रेष्ठलगायत रहनेछन् । 

प्रधानमन्त्री मोदीलाई अन्तरराष्ट्रिय वौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवा, डा आरजु राणा देउवा, मन्त्रिपरिषद्का सदस्य,लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नामग्या खम्पा लगायतले स्वागत गर्ने कार्यक्रम छ ।

भारतीय प्रधानमन्त्रीको रुपमा पाँचौं पटक नेपाल आउन लागेका मोदी सोमबार सिधै लुम्बिनी आएर त्यहींबाट सोही दिन स्वदेश फर्कनेछन् । 

भारतीय वायु सेनाको तालिकाअनुसार मोदीले सोमबार पौने ११ बजे लुम्बिनीमा सेनाको हेलिकोप्टरमार्फत अवतरण गर्नेछन्। त्यहाँबाट उनी ११ बजे मायादेवी मन्दिर पुग्नेछन् । उनले साढे ११ बजे हुने भूमिपूजन समारोहमा पनि भाग लिनेछन् । 

सवा १२ बजे मोदी पवन अन्तर्राष्ट्रिय होटलमा पुग्नेछन् । त्यहाँ १२ः२० मा उनले पराराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्नेछन्। उनीसँगको १० मिनेटको वार्तापछि उनले प्रधानमन्त्री देउवासँग पनि १५ मिनेट वार्ता गर्नेछन्। पौने १ मा मोदीको प्रतिनिधिमण्डलसँगको बैठक हुनेछ । 

साढे १ बजे प्रधानमन्त्री देउवाले आयोजना गरेको लन्चमा मोदी सामेल हुनेछन् । २ बजे मोदीले अन्य केही विशिष्ट व्यक्तिहरुसँग भेटवार्ता गर्नेछन् । साढे ३ बजे मोदीले बुद्ध जयन्तीको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसपछि उनी ५ बजे भारतीय वायु सेनाको विमानबाट कुशिनगर प्रस्थान गर्नेछन् ।