काठमाडौं – नेपाली सेनाले सेती नदीको खोंचमा खसेका एक व्यक्तिको उद्धार गरेको छ ।
यही वैशाख ३० गते पोखरा महानगरपालिका वडा नं. ७ घारिपाटनस्थित सेती नदिको किनारमा एक जना पुरुष (प्युठान जिल्ला, गौमुखी गाउंपालिका वडा नं. ३ घर भई हाल पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँ गाउँ बस्ने, वर्ष ३२ को बिशाल थापा मगर) माछा मार्ने क्रममा चिप्लिएर सेती नदिको खोंच (करिब २०÷२५ मिटर तल) मा फसेको अवस्थामा नेपाली सेनाको डिजास्टर ए्यासिसटेन्स रेस्पोन्स टिम (डिएआरटी) नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा, विशेष ईक्युप्मेन्टबाट रोप बनाई र्याप्लिङ गरी उद्धार गरेको हो ।
उद्धार गरिएका थापाको दाहिने खुट्टा भाँचिएको अवस्थामा रहेको हुँदा, नेपाली सेनाको मेडिकल टिमबाट प्राथमिक उपचार गरी, थप उपचारको लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा लगिएको नेपाली सेनाले जानकारी दिएको छ ।
साथै, मिति २०७९ वैशाख २९ गते धनगढीबाट बाजुरातर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश ०१–००१ ख ३१०८ नम्बरको यात्रु बाहक बस डोटी जिल्ला, पूर्वीचौकी गाउंपालिका वडा नं. ४ स्थित सानागाउं ईलाका प्रहरी कार्यालयबाट करिब १०० मिटर अगाडी, सडकबाट २० मिटर तल खसी, दुर्घटना भएको खबर प्राप्त भएपश्चात नेपाली सेनाको टोली परिचालन भई नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा उद्धार कार्य गरेको जानकारी समेत नेपाली सेनाले दिएको छ ।