काठमाडौं । काठमाडौँ महानगरपालिकाको मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।
शुक्रबार राति बसेको सर्वदलीय बैठकले आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो ।
उम्मेदवारहरूका प्रतिनिधि राख्ने विषयमा सहमति नजुट्दा मतगणना कार्यमा ढिलाई भएको थियो ।
अहिले स्वतन्त्र उम्मेदवारको तर्फबाट एक उम्मेदवार एक प्रतिनिधि राख्ने सहमति जुटेको छ । सहमति जुटेसँगै केहीबाट मतगणना सुरु गर्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।
निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना गरिनेछ । कार्यालयले अहिले मतगणनाका लागि दलका प्रतिनिधिलाई परिचयपत्र वितरण गरिरहेको र सोपश्चात् मतगणना सुरु गर्ने निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।
सुरुआती चरणमा एक ठाउँबाट गणना गर्ने तयारी गरिएको र केहीबेरमा गणनास्थल थप गरिने उनले जानकारी दिए । सुरुमा वडा नं १ र ३२ को मत गणना गरिने अधिृकत श्रेष्ठले जानकारी दिए ।
शुक्रबार सम्पन्न निर्वाचनमा महानगर क्षेत्रमा ६३.४९ प्रतिशत मत खसेको थियो ।