शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानमन्त्री देउवालाई पुराना दुई कांग्रेस नेताले भेट दिएनन्

मंगलबार, बैशाख २७ २०७९

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चुनावी अभियानका क्रममा देश दौडाहमा छन् ।

गठबन्धनको पक्षमा भोट माग्दै उनी यति बेला गृहप्रदेश सुदूरपश्चि पुगेका छन् । विराटनगरको चुनावी सभाबाट यात्रा सुरु गरेका देउवा हेलिकप्टर लिएर कहिले चितवनको भरतपुर त कहिले पोखरा पुगेर गठबन्धनका उम्मेदवारलाई भोट मागे । त्यति मात्र कहाँ हो र विवादित भरतपुर महानगरको मेयरमा प्रचण्ड पुत्रि रेणुलाई आफैले उठाउन जोडबल गरेको समेत उनले भन्न भ्याए । जहाँ कांग्रेसबाट वागी उम्मेदवारी समेत परेको छ ।

प्रधानमन्त्रीको देश दौडाहमा उनले भेट्न चाहेका नेताहरु सबैलाई भेटे । तर कांग्रेसकै दुई नेताले भने उनलाई भेट नदिएको खवर सार्वजनिक भइरहेका छन् । देउवाले चाहेर पनि उनलाई भेट नदिने नेताहरुमा कैलालीका पुष्करनाथ ओझा र भरतपुर चितवनका जगन्‍नाथ पौडेल हुन् ।

कैलालीका ओझालाई सोमबार दिउँसो देउवाले भेट्न चाहेका थिए । तर, ओझाले भेटका लागि समय दिएनन् ।

ओझासँग भेट्ने चाहना पूरा नभएपछि देउवा सोमबार नै गृहजिल्ला डडेल्धुरा पुगेका छन् । आज उनले त्यहाँको विभिन्‍न ठाउँमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । 

यसअघि, २१ वैशाखको साँझ र २२ वैशाखको बिहान देउवाले चितवनको भरतपुरमा विद्रोही उम्मेदवारी जगन्नाथ पौडेलसँग भेट गर्न चाहेका थिए । तर, उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग चाहिँ छोटो समय भेट दिए। देउवालाई भेट्नै चाहेनन् । त्यसपछि देउवा गठबन्धनको चुनावी सभालाई मात्र सम्बोधन गरेर काठमाडौ फर्किए । 

यी दुई नेतालाई स्थानीय निर्वाचनअन्तर्गत मतदान गर्ने दिन नजिकिएका बेला देउवाले भेट्न चाहनुको एउटै कारण हो– गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न आग्रह गर्न चाहनु ।

दुवै नेता भने पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै कारबाहीमा परेका छन् । 

पौडेलले भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनको आधिकारिक उम्मेदवार रेणु दाहालविरुद्ध विद्रोही उम्मेदवारी  दिएका छन् भने गएको २०७४ को संसदीय निर्वाचनमा देउवा पत्‍नी डा. आरजु राणालाई असहयोग गरेको आरोपमा ओझालाई कांग्रेसले कारबाही गरेको थियो ।