काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी सञ्चारकर्मी सुनिता डंगोलको चर्चा अहिले धेरै नै छ ।
महिला उम्मेदवार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट उम्मेदवारी पर्नुले पनि उनीप्रति धेरैको चासो देखिएको हुनसक्छ ।
मिस नेवा २०११ की विजेता भएर पनि उनले चर्चा बटुलेकी थिइन् । साथै सञ्चारकर्मबाट पनि उनले काम गरिसकेकी छन् । उनको परिचय यतिमा मात्रै सिमित छैन । उनी अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन लागि परेकी छन्। सुमधुर स्वर, मिठो बोल्ने शैली र प्रष्ट आफ्नो विचार राख्नु सक्नु उनको लोकप्रियताको अर्को कारण हो । त्यति मात्र कहाँ होर ! उनले नेपालको संस्कृतिलाई विशवमाझ चिनाउने किसिमका कार्यक्रम पनि गर्दै आएकी छन् ।
उनी नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा दाबेदार हुन् । अहिलेको स्थितिमा हरेक पार्टीका लागि बलियो र मुख्य प्रतिद्वन्दी पार्टी एमालेको तर्फबाट देशको राजधानीमा रहेको महानगरपालिकाको उपमेयरमा युवालाई विश्वास गरेर पार्टीले उपप्रमुख जस्तो पदको टिकट दिनुले पनि उनलाई धेरैले चासोसँग हेरेका छन् । एमालेको तर्फबाट महानगरको मेयरमा भने पूर्व मेयर तथा एमालेका नेता केशव स्थापितले उम्मेदवारी दिएका छन् ।
एमालेले महानगरमा जितेको खण्डमा युवापुस्ता र अग्रज पुस्ताहरुबीचको कम्युनिकेशन मिलाउने कुरामा चुनौति छ । त्यसलाई स्थापित र डंगोलले कसरी समन्वय गर्नेछन् भन्ने कुरा यदी जितेको खण्डमा भविष्यमा देखिने नै छ । डंगोल आफैँ पनि आफ्नो पक्षमा स्पष्ट जितका लासिग चाहिने भोट आउनेमा विश्वस्त छन् । उनले घरदैलो कार्यक्रममा जाँदा राम्रो प्रतिक्रिया आइरहेको बताइन् । उनले भनिन्, ‘अहिले घरदैलो कार्यक्रमहरु भइरहेको छ । काठमाडौंको जुनकुनै ठाउँमा गएपनि राम्रो रेस्पोन्सहरु आइरहेको छ ।’
काठमाडौं महानगरवासीहरुले महिला उपप्रमुखको रुपमा आफूलाई जिताएर महिला हक हीतका कुराहरुलाई बचाउने छन् भन्ने उनको विश्वास छ । उनले आफू उपमेयर बनिसकेपछि काठमाडौंमा रहेका सांस्कृतिक सम्पदाहरुको पुनः निर्माणलाई पूरा गर्ने र संस्कृतिहरु नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने कुरामा काम गर्ने बताउँदै आएकी छन् । काठमाडौं देशको राजधानी भएकोले यहाँको पूर्वाधारमा विकास गर्नु आवश्यक रहेको उनको बुझाइ छ । उनले काठमाडौंको चिनारी यहाँको भाषा, कला, संस्कृति, जात्रा र पर्व आदि कुराहरुमा अडिएकोले यसलाई संरक्षण गर्न सकेमात्रै काठमाडौंलाई काठमाडौंजस्तो बनाउन सकिने बताइन्।
उनले काठमाडौं उपत्यकाभित्र ४ वटा विश्व सम्पदा सूचिमा सूचिकृत भएका स्थानहरु रहेको र त्यो बाहेक पनि अन्य सांस्कृतिक सम्पदाहरु रहेकोले बाँकी सम्पदाई पनि राष्ट्रिय सम्पदाको रुपमा सूचिकृत गर्नुपर्ने बताइन्। कार्यक्रम मञ्चहरुलाई थप बिस्तार गरेर काठमाडौं महानगरपालिकाले यहाँको संस्कृति, गीत, संगीतका कार्यक्रम आयोजना गरे यसको संवद्र्धन हुने उनको बुझाई छ ।
३१ बर्षिय उपमेयरकी दाबेदार डंगोलले आफू महानगरपालिकाको उपमेयर बनेपछि महानगरीय संग्रहालय बनाउने र त्यसमा काठमाडौंका मौलिकता झल्किने कुराहरुलाई राख्ने बताउँछिन् । उनले यहाँको भाषा, रितिरिवाज, संस्कृति, भेषभुषालगायतका काठमाडौंका मौलिकता झल्किने कुराहरु संग्रहालयमा राख्दा काठमाडौंको बारेमा बुझ्न चाहनेका लागि सहज हुने बताइन् ।
स्थानीय भाषालाई जोड दिने बताउँदै उनले यी सबै काम गर्नका लागि भावनासँगै नीति, नियम र योजनाको खाँचो रहेको र त्यसलाई स्थानीय सरकारको रुपमा महानगरले गर्न सक्ने स्पष्ट पारिन् ।
उपमेयरकी प्रत्यासी डंगोलले भन्छिन्, ‘त्यतिमात्रै नभइ महानगरभित्र नै एउटा महानगर संग्रहालय बनाउन सक्यौँ । त्यसमा हामीले काठमाडौंसँग जोडिएका इतिहास, किंवदन्तीहरु राख्नुपर्छ र मात्र काठमाडौंलाई नजिकबाट हेर्न सकिन्छ । अहिले पनि राम्रो काम भएको छ । विद्यासुन्दर शाक्यको पालामा एकदमै राम्रो काम भएको भनेको स्कुल स्कुलमा लोकल करिकुलम, लोकल भाषा राख्नुभएको हो । जति धेरै ल्याङ्ग्वेज एण्ड स्क्रिप्ट हुन्छ आफ्नो त्यति नै आफ्नो पहिचान झल्किन्छ म त्यसमा काम गर्न चाहन्छु । इना, ढुंगेधारा, पोखरीहरु मासिँदै गएको छ, यसलाई संरक्षण गर्न जरुरी छ । काठमाडौंलाई रिभाइभ गर्ने हो । पुराना राम्रा कुराहरुलाई फेरि हामीले लाइमलाइफमा ल्याउने हो र काम गर्ने हो भने भावना चाहिन्छ । भावनाले मात्र पनि हुँदैन योजना ल्याउनु पर्छ । यसको लागि स्थानीय सरकारले काम गर्न सक्छ ।’
उनले अहिले बाध्यताले नेपाली युवाहरु विदेशीन बाध्य भइरहेको बताउँदै महानरगमा जितेपछि आफूले महानगरभित्र नै उच्च रोजगारीका कार्यक्रहरु ल्याउने प्रतिवद्धता जनाइन् । उनले पहिलो प्राथमिकतामा आफूले काम गर्ने ठाउँमा योजना बनाउन र कस्तो रणनीतिका साथ शहरको विकास गर्ने भन्ने कुरा युवाहरुको सोचका आधारमा नै हुने दाबी गरिन् । उनले युवाहरुलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न तीनै तहका सरकारहरु मिलेर काम गर्नुपर्ने भन्दै यहाँ रोजगारी सिर्जना गर्न इनोभेशन हब र सेन्टरहरु स्थापना गर्नुपर्ने धारणा राखिन् । अहिले धेरै युवाहरुले रुचाएको क्षेत्र आईटी भएकोले त्यसलाई महानगरपालिकाले स्थानीय सरकार बनेर सघाउनु पर्नेमा जोड दिइन्। उनले आफ्नो जितपछि महानगरमा स्टार्टअप कम्पनीहरु, आईटी बेस र अरु बेस कम्पनीहरुलाई स्थानीय सरकारको तवरबाट इन्करेज गर्ने काम गर्ने बताइन् । यस्ता कामले देशको अर्थतन्त्र र रोजगारी सिर्जना हुने तथा युवा शक्ति विदेश पलायन नहुने उनको बुझाइ छ ।
उनी अब काठमाडौं डिजिटल हुनुपर्नेमा विश्वास गर्छिन् । उनले भनिन्, ‘काठमाडौं डिजिटल भनेको काठमाडौं चलाउने सिस्टम बडी नै डिजिटल हुन आवश्यक छ । जसमा केएमसी एपको अवधारणा छ । त्यसमा काठमाडौंभित्र गर्ने कामहरु हुन्छन् । त्यो हरेक मोबाइलमा उपलब्ध हुन्छ । त्यसले धेरै कामहरु अनलाइनबाट गर्न सकिन्छ । काम गर्न के प्रोसेस हो ? त्यो सबै त्यस एपमा हुन्छ । अर्को भनेको हामीले ट्याक्स पनि एपबाट नै तिर्नसक्ने व्यवस्था गर्छौं । अर्को इगभर्मेण्ट्सबाट अहिले भनिरहेको समस्या समाधान हुनसक्छ । यसले सिस्टमलाई एक्चुअल सिस्टममा सेट गर्छ । अर्को धेरै पेपर वर्कहरु हुँदैन । यसले सेवाग्राहीलाई धेरै हदसम्म सजिलो हुन्छ । स्मार्ट सिटी बनाउन जिआइए सिस्टम चाहिन्छ । काठमाडौंमा भएका घरघरका जानकारीलाई डेटा बेसमा ल्याएर कुनैपनि समस्या भए त्यो डेटाले समाधान गर्छ ।’
डंगोलले आफू उपमेयर भएपछि महिलाहरुको आवश्यक्ताको आवाज बनेर काम गर्ने बताइन् । उनले हरेक काममा महिलालाई अघि सारेर समस्या आउनुपूर्व नै हल हुने गरी काम गर्ने बताएकी छन् । उनले महिलाहरुलाई रोजगारीमुलक कार्यक्रम, फाइनान्सीयल लिट्रेसी प्रोग्राम, महिलाहरुलाई परेका कुनैपनि समस्या स्थानीय सरकारबाट नै हल गर्ने व्यवस्थाका लागि वुमेन सेल स्थापना गर्ने घोषणा समेत गरिन् । उहाँले महिलालाई राति हिँड्न समस्या भइरहेकोले अब पूरा काठमाडोंलाई झलमल्ल बनाउने र महिलालाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था गर्ने बताइन् ।
उनले काठमाडौंवासीलाई सहुलित सेवा प्रदान गर्न केएमसी कार्ड दिने योजना रहेको पनि जानकारी गराइन् । काठमाडौंका स्थानीयहरुलाई सहुलियत कार्यक्रमहरु ल्याउने आफ्नो योजना रहेको बताइन् । उनले आफू प्रतिनिधि बनेपछि युवासँगै रहेर काम गर्ने र युवासँगै काठमाडौंको विकास गर्ने लक्ष्य रहेको बताउँदै आएकी छिन् । उपमेयरकी प्रत्यासी डंगोलले काठमाडौंलाई रिभाइभ कल्चरल हब बनाउने क्रममा सांस्कृतिक कार्यक्रहरु गर्ने, काठमाडौंका कथाहरुलाई नाटकसँग जोडर देखाउने कुरामा पनि त्यत्तिकै जोड दिने योजना अघि सारेकी छिन् । उनले सांस्कृतिक कार्यक्रमहरुले पर्यटनलाई पनि टेवा पु¥याउने बताउँदै युवाहरुलाई जोडिरहनका लागि विभिन्न खेलकुदका कार्यक्रमहरु आयोजना गर्ने र खेलाडीहरुको उत्पादनमा पनि जोड दिने योजना रहेको सुनाइन् ।
नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बनेकी सुनितालाई जित, युवा नेतृत्वलाई वहन गर्ने क्षमताको सदुपयोग र महिला हक अधिकारको लागि लड्ने चुनौति र काम गरेर देखाउने अवसर छ । उनलाई युवा पुस्ता र त्यसमाथि पनि महिलाले नेतृत्व लिन सक्छ भन्ने प्रमाणित गर्नु महत्वपूर्ण कुरा हुनेछ । नयाँ पुस्ताले विकासलाई सार्थक बनाउन सक्छ भन्ने कुराको प्रमाणित गर्नु डंगोलका लागि चुनौतिको विषय हो ।