झापा । नेकपा (एकीकृत समावादी)बाट गौरीगञ्ज गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका भूपनारायण राजवंशी एमालेमा फर्किएका छन् ।
एकीकृत समाजवादीबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका राजवंशी चुनावको पूर्वसन्ध्यामा एमालेमै फर्किएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर उनले एमालेमै फर्किएको घोषणा गरे ।
एमाले फर्किएको घोषणा गरेका भूपनारायणले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ नेकपा एमालेभित्रको तत्कालीन अन्तर्विरोधमा म एउटा पक्षमा लागेको थिएँ । त्यो पक्ष माधव नेपाल नेतृत्वको पक्ष थियो । जतिबेला म सो पक्षमा लागें, त्यसबेला ठीक गरे भन्ने ठानेको थिएँ । तर, समयक्रम र राष्ट्रिय राजनीतिको घटनाक्रमहरु हेर्दै जाँदा गलत गरेको निष्कर्षमा पुगेको छु । माधवकुमार नेपालजीले नेतृत्व गर्नुभएको पार्टीमा म वास्तवमै इमानदारीपूर्वक लागेको थिएँ । तर, माधवजी र माधवजीको समूहमा लाग्नुभएका साथीहरुले पार्टी चोइटाउनुको कारण निजी स्वार्थ र अन्तराष्ट्रिय स्वार्थ रहेछ । तसर्थ, सत्यतथ्य बुझिसकेपछि पार्टी बन्न नसकेको माधवजीको गिरोहमा बसेर निर्वाचित हुनुको अर्थ देखिन ।’
उनले विज्ञप्ति मार्फत भनेका छन्, ‘नेपाली जनता तथा गौरीगञ्जका जनताले नेकपा एमाले र यसका नेतृत्वकर्ता केपी शर्मा ओलीले विगतमा गर्नुभएको कामको वर्णन गरिरहेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा ऐतिहासिक कामहरु गरेको छ । यो तथ्यलाई ढाकछोप गर्ने प्रयास कांग्रेसले गर्नुलाई म अन्यथा ठान्दिन । तर, माधवकुमार नेपाल तथा प्रचण्डजीहरुले समेत निजी स्वार्थ र कुण्ठाबाट प्रेरित भई केपी शर्मा ओली तथा नेकपा एमाले विरुद्ध भ्रम फैलाउने अभियान चलाइरहनुभएको छैन । सत्यको ढाकछोप गरेर मिथ्याको पक्ष लिन मैले सकिनँ । त्यसैले आफ्नो प्यारो पार्टी नेकपा एमालेमै समाहित भएको घोषणा गर्दछु । ‘
भ्रममा परेर, बाटो बिराएर नेकपा एमालेबाट बाहिरिएकाहरुलाई केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमै फर्कन उनले आव्हान समेत गरेका छन् ।