काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तह निर्वाचनमा आफ्नो सन्तानलाई जिताउने बाहेक अरू कार्यकर्ताको संरक्षणमा ध्यान नदिएको भन्दै काठमाडौं महानगरपालिकामा माओवादीका तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका तीन जना नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
केही दिनअघि माओवादी केन्द्रका तर्फबाट काठमाडौं-१३ र १५ को वडाध्यक्ष पदको उम्मेदवार बनेका व्यक्ति एमालेमा प्रवेश गरेका थिए । आज फेरि माओवादी केन्द्रबाटै काठमाडौं-२४ का वडाध्यक्षको उमेदवार बनेका राजेन्द्र श्रेष्ठ एमालेमा प्रवेश गरेका छन् ।
उनीसहित माओवादी परित्याग गरेका २४ जनालाई एमाले काठमाडौं जिल्ला सचिव राजेश शाक्यले टीका लगाएर पार्टीमा स्वागत गरे ।
यसअघि, माओवादी केन्द्रका तर्फबाट काठमाडौं-१३ को वडाध्यक्षको उमेदवार बनेका रामशरण डंगोल र काठमाडौं-१५ को वडाध्यक्षको उमेदवार बनेका रत्नकाजी महर्जन एमाले प्रवेश गरेका थिए ।