शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

वृद्धभत्तालाई ‘एमालेले देशको बजेट कनिका छरेझैँ छर्‍यो’ भन्ने कांग्रेस अब एमालेकै लाइनमा  

सोमबार, बैशाख २६ २०७९

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता कांग्रेसले गरेको बताएका छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. महतले कांग्रेसले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता जनाएको जानकारी दिए । वृद्धभत्ता ७० वर्षमाथिकाले पाउने व्यवस्था छ ।

नेकपा एमालेका नेता स्व मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा २०५१/५२ को वजेटमार्फत नेपालमा वृद्धभत्ता वितरणको सुरुवात भएको थियो। सो समयमा वृद्धभत्ता पाउनको लागि ७५ वर्ष पुगेको हुनुपर्थ्यो भने सरकारले प्रति व्यक्ति मासिक १०० का दरले प्रदान गर्दै आएको थियो ।

तत्कालिन मनमोहन सरकारले समाजमा ज्येष्ठ नागरिकले रकमको अभावमा खानपिन र औषधि उपचारमा भोगेको समस्यालाई मध्यनजर गर्दै यो कामको सुरुवात गरेका थिए ।

एमालेको उत्त कामलाई नेपाली कांग्रेसका केही नेताले त्यो बेला विरोध जनाएका थिए । उनीहरुले एमालेले ‘देशको बजेट कनिका छरेझैं छर्यो’ भनेर विरोध गरेका थिए ।

देशको ढुकुटी यसरी वितरण गरिनु नहुने पक्षमा उनीहरुको मत थियो । अन्तत: आज कांग्रेस पनि वृद्धभत्ताको पक्षमा देखिएको छ । कांग्रेसले सुत्केरी महिलाहरूलाई पाँच हजार भत्ता दिने, साना किसानहरूलाई १० हजार क्रेडिट कार्डसहित दुई प्रतिशत व्याजदरमै ऋण उपलब्ध गराउने लगायतका प्रतिवद्धता व्यक्त गरेको प्रवत्ता महतले जानकारी दिएका छन् ।

०४६सालको परिवर्तनसँगै  कांग्रेसले ‘कम्युनिष्टहरुले वृद्धवृद्धालाई गोली हानेर मार्छन्’ भन्दै अफवाह फैलाएको कम्युनिष्टहरुको आरोप छ । उक्त अफवाहको प्रतिउत्तरमा हरेक वृद्धवृद्धालाई एमालेले सम्मान स्वरुप प्रति महिना १०० रुपैयाँ वृद्धभत्ता दिन थालेको एमालेका नेता बताउँदै आएका छन् । एमालेको उक्त काम आज पनि लोकप्रिय छ । वृद्धभत्ता हाल मासिक चार हजार रुपैयाँ छ।