शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बुढो कांग्रेसलाई तालमेलको टेको

शुक्रबार, बैशाख २३ २०७९

काठमाडौं । सबैभन्दा बुढो पार्टीको परिचय बनाएको नेपाली कांग्रेसले ३० बैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि सत्तामारहेका पाँच दल र राप्रपासँग चुनावी तालमेल गरेको छ ।

अरु त अरु भइगए सधै ठूलो पार्टी रहेको कांग्रेससमेत अरुको बैशाखी बेगर चुनावमा जाने आँट नगरेको भन्दै कांग्रेस समर्थक नै आश्चर्य चकित भएका छन् ।

चुनावी गठबन्धनबारे कांग्रेसभित्र लामो समयदेखि चर्को विवाद भयो । कांग्रेस उपसभापति समेत रहेका नेता धनराज गुरुङ, महामन्त्रीद्धय गगन थापा, विश्वप्रकाश शर्मा, १०औं महाधिवेशनमा सभापति उम्मेदवार बनेका शेखर कोइरालाहरुले सार्वजनिक मञ्चबाटै कांग्रेस चुनावी तालमेलको विपक्षमा रहेको र स्थानीय निर्वाचनमा कोहीसँग पनि तालमेल नगरी एक्लै चुनाव लड्ने बताउँदै आएका थिए । 

पार्टी सभापति शेरबहादुर देउवा आगामी निर्वाचनमा सत्तारूढ गठबन्धनका दलहरूबीच चुनावी गठबन्धन गरेर जानुपर्ने पक्षमा थिए भने संस्थापनइतर समूह गठबन्धनको विपक्षमा अडान राख्दै आएको थियो । तर, लामो विवाद र रस्साकस्सीपछि अन्ततः कांग्रेसले चुनावी गठबन्धनको पक्षमा नै निर्णय गरेको थियो ।
अन्तत उनीहरुको भन्ने एउटा र गर्ने अर्को भनाइ चरीतार्थ हुन पुग्यो ।

सभापति देउवाले एक्लै चुनाव लडेर एमालेलाई जितेर देखाउन भनेपछि उनीहरु चुपचाप भएका थिए । कांग्रेसकै बरिष्ठ नेता रामचन्द्र पौडेलले समेत एमाले हराउन एक्लै नसकिने हुँदा पाँचदलीय गठबन्धन आवश्यक रहेको बताएपछि उम्लिएका युवा नेता पछाडि सरेका थिए । देशको सबैभन्दा बुढो, सबैको अभिभावक हुँ भनेर हुंकार गर्ने पार्टीलाई एउटा चुनाव जित्न सैद्धान्तिक रुपमा पनि बेमेल रहेका पार्टीसँग गठजोड गर्न किन परेको होला ? सत्ताधारी भनिएका तर, सधै आफूलाई अप्ठ्यारो पारिरहने प्रचण्डको रापताप, माधव नेपालको घुर्क्याई सहेर किन यति विघ्न तालमेल आवश्यक भयो भन्ने प्रश्न उब्जिएको छ ।

गलत र स्वार्थ केन्द्रीत तालमेल भएको भन्दै स्थानीय स्तरमा विरोधसमेत भएको छ । स्थानीय नेताहरुले गठबन्धनको विरुद्ध बागी उम्मेदवारी समेत दिएका छन् । जसको उदाहरणका रुपमा भरतरपुर महानगरलाई लिन सकिन्छ । यसैगरी कांग्रेसले स्वार्थकेन्द्रित राजनीति गरेको, निति विपरित निर्णय गरेका भन्दै सयौं नेता कार्यकर्ताले पार्टी परित्याग समेत गरेका छन् । कति नेता कार्यकर्तामाथि पार्टीले कारबाहीको डन्डासमेत चलाएको छ । पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिएको भन्दै त्यस्ता विद्रोही उम्मेदवार र उनीहरुका प्रस्तावक र समर्थकलाई कांग्रेसले कारबाही समेत गरेको छ । केन्द्रमा बसेर तल्लो तहका कार्यकर्तामाझ यस प्रकारको निर्णय हुँदा कांग्रेस कार्यकर्ता अझ रुष्ट बनेका छन् ।

त्यसको विरुद्ध अन्य नेता कार्यकर्तामाझ निराशा जम्मिएको छ । नेता कार्यकर्ता फकाउनै केन्द्रका नेतादेखि प्रधानमन्त्री समेत रहेका देउवा स्वयं स्थानीय तहमा गएर अनुरोध गर्न विवश छन् । उनीहरुको आग्रहलाई तल्लो तहका नेता कार्यकर्ताले मान्लान् ?

यसप्रकारको तालमेललाई मतदाताले कुन रुपमा हेरेका होलान् ? यी प्रश्नको जवाफ आगामी ३० गतेको निर्वाचनले पक्कै दिने छ ।