काठमाडौँ l भक्तपुर जिल्ला अदालतले ओखलढुङ्गाका एक गाउँ पालिकाका उम्मेदवारविरुद्ध पक्राउ पुर्जी जारी गरेका छ ।
नेकपा (एमाले) बाट ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका मिलनकुमार विष्टविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
भक्तपुर जिल्ला अदालतले विष्टविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गालाई पत्र पठाएको छ । विष्टविरुद्ध बैंकिङ कसुर तथा कीर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । अदालतले वैशाख १६ गते नै विष्टलाई पक्राउ गर्न ओखलढुङ्गा प्रहरीलाई पुर्जी पठाए पनि प्रहरीले अझै उनलाई पक्राउ गरेको छैन ।
विष्टविरुद्ध दोहोरो नागरिकता लिएको कसुरमा पनि उजुरी परेको छ । दोहोरो नागरिकता लिएको कुसुरमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र महानगरीय प्रहरी परिसर काठमाडौंबाट समेत अनुसन्धान शुरु भएको छ । विष्टले जिल्ला प्रशासन कार्यालय काठमाडौं र ओखलढुङ्गाबाट दोहोरो नागरिकता लिएको उजुरीमा उल्लेख छ ।
लिखु गाउँपालिकामा कांग्रेसको तर्फबाट अध्यक्ष पदमा उम्मेदवार बनेका अशोक कार्कीले विष्टविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका हुन् । निर्वाचन अधिकृत राजेशकुमार थापाले पछि कानुनबमोजिम हुने गरी हाललाई विष्टको मनोनयन पत्र खारेज गरिरहनु नपर्ने भनी निणर्य गरेपछि उनको उम्मेदवारी खारेज हुनबाट जोगिएको छ ।
निर्वाचन आयोगको मतदाता नामावली सूचीमा विष्टका दुई नाम छन् । आयोगको मतदाता नामावली सूचीमा क्र.सं.१३६३ को मतदाता नम्बर ३७९८२९२ र क्र.सं.२१७४ को मतदाता नं. १७७६४४३० मा उनको नाम मिलनकुमार विष्ट र होमबहादुर विष्ट भनेर उल्लेख गरिएको छ ।
विष्टले २०४७ मा ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयबाट होमबहादुर विष्टका नाममा नागरिकता लिएका थिए । त्यसैगरी २०५१ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले मिलनकुमार विष्ट नाममा अर्को नागरिकता लिएको पाइएको छ । यी दुवै नागरिकतामा उनको बुवाको नाम गणेशबहादुर विष्ट उल्लेख छ । दुबै नागरिकतामा ठेगाना भने पोकली-४ ओखलढुङ्गा उल्लेख छ ।