काठमाडौं l वालेट प्रयोगकर्र्ताहरुले एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा कारण खुलाउनु पर्ने भएको छ । सोमबार भुक्तानी सम्वन्धी कार्य गर्ने अनुमतीपत्र प्राप्त सबै संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
सो अनुसार अबदेखि विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्यरुपमा प्रयोजन खुलाउनु पर्ने छ । बिद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा पेस गरेको विवरण ठिक साँचो रहेको तथा सो विवरण झुठो ठहरिएमा कानुन बमोजिम संहुंला, बुझाउँला भन्ने व्यहोराको विद्युतीयरुपमा स्वः घोषणा गर्न लगाउनुपर्ने व्यवस्था गरेको छ ।
परिपत्रले क्रेडिट कार्डबाट अधिकतम १० प्रतिशतसम्म रकम झिक्न व्यवस्था लागु गर्न निर्देशन दिएको छ । भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशन–२०७८ मा संंसोधन गर्दे यस्तो व्यवस्था लागु गरिएको राष्ट्र बैंकको भनाई छ । सामान्यतया क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाईने छैन । तर अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न बाधा पुगेको मानिने छैंन । साथै क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको बिद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्नुपर्ने छ । उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने अवस्था सम्वन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नुपर्ने छ ।