शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सत्ता गठबन्धनका दल भित्र चुलियो असन्तुष्टि

आइतबार, बैशाख १८ २०७९

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर उम्मेदवारी टुंगो लागेपछि भने असन्तुष्टि चुलिएको छ ।

असन्तुष्टि जनाउनेमा जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले जसपालाई तालमेलमा पूरै न्यूनीकरण गरेको भन्दै त्यस्तो प्रवृत्ति आपत्तिजनक भएको बताएका छन् । 

भट्टराईले यसबारे बेलैमा ध्यान पुर्‍याउन गठबन्धनका अन्य नेताहरूलाई सचेत समेत गराएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा डा भट्टराईले शनिबार राति लेखेका छन्, ‘प्रतिगमनविरोधी आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेको, पाँच दलीय गठबन्धन र संयुक्त सरकार निर्माण निम्ति पार्टीको फुटको समेत जोखिम उठाएको, एमसीसी लगायतका राष्ट्रिय मुद्दाहरूमा निरन्तर स्पष्ट अडान राख्ने जसपालाई चुनावी तालमेलमा पूरै न्यूनीकरण गर्ने प्रवृत्ति आपत्तिजनक छ । बेलैमा ध्यान पुगोस् ।’

baburam.PNG

 

मधेस प्रदेश, लुम्बिनी प्रदेशसहित बाग्मती प्रदेश र प्रदेश १ लगायत केही प्रदेशको तराई क्षेत्रमा मात्र जसपाले निर्वाचनमा तालमेल गर्दा बढी स्थानीय तह पाएका छन् । पहाडी र हिमाली जिल्लामा जसपाले नगन्य स्थान पाएको छ ।

गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले बढी स्थानीय लिएको तीन दलका नेताहरूको आरोप लगाउँदै आएका छन् ।

नेकपा एकीकृत समजावादीका अध्यक्ष माधवकुमार नेपालले नै तालमेलबारे पटक पटक असन्तुष्टि पोख्दै आएका छन् । एकीकृत समाजवादीले दुई दल कांग्रेस र माओवादीले धेरै स्थानीय तहमा एक्ल्याएर गठबन्धन पनि गरेको छ । 

यसैगरी जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गएको बिहीबार विज्ञप्ति नै जारी गरेर एउटा पनि महत्वपूर्ण नगरपालिका नपाएको भन्दै असन्तुष्टि पोखेका थए ।