काठमाडौँ l बिसं २०७७ बैशाख १४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम दार्चुला–टिंकर सडक (कोठेधार–टिंकर खण्ड)को ७५ कि.मी. सडक निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई प्रदान भएको हो ।
सो अनुरुप बिसं २०७७ बैशाख २८ गतेबाट नेपाली सेना उक्त स्थानमा परिचालन भई आ.ब. ०७७/७८मा सुनसेरा तथा दुम्लिङमा क्याम्प निर्माण कार्य सम्पन्न गरेको नेपाली सेनाले जानकारी दिएको छ ।
साथै बिसं २०७८ माघ १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार तुषार पानी–कोठेधारसम्मको चार कि.मी. ट्रयाक निर्माण कार्यको जिम्मेवारी समेत नेपाली सेनालाई प्रदान भई निर्माण कार्य संचालन भईरहेको जानकारी पनि सेनाले दिएको छ ।
सडक विभागबाट खोलिएको गल्थै, सुनसेरा–तुषारपानी (३ कि.मी) सडक खण्ड २०७८ सालको वर्षाको कारण पहिरो गई क्षति भएकोमा उक्त सडक खण्ड मध्ये गल्थै देखि तुषारपानी खोलासम्म १.५ कि.मि. ट्रयाक सडक विभागबाट पुनः खोलिएको थियो ।
बाँकी सडक खण्डको निर्माण कार्य स्थानीय बासिन्दाको विरोधका कारण अगाडि बढ्न नसकेको हुँदा, नेपाली सेनालाई जिम्मेवारी प्राप्त भएको सडक खण्ड निर्माण कार्यमा ढिलाई हुन नदिनको लागि, बिसं २०७८ चैत्र १८ गते तुषार पानी खोलामा वैकल्पिक मार्गद्वारा नेपाली सेनाले पीसी–२२० एक्साभेटर पुर्याएको थियो ।
लक्ष्य बमोजिमको प्रगति हासिल गराउनको निमित्त नेपाली सेनाद्वारा मल्टीपल एपरोचबाट पीसी–१४० एक्साभेटर तथा मध्यम उपकरणहरु तैनाथ गर्न आवश्यक देखिएकोले पूर्व स्वीकृत योजना अनुरुप २०७९ बैशाख आठ गतेबाट बैशाख ११ गतेसम्म एमआई–१७ हेलिकप्टर मार्फत ३ वटा कम्प्रेशर (तुषारपानी–कोठेधार–२, दुम्लिङ–१) तथा २ वटा पीसी–१४० एक्साभेटर (माल–१, दुम्लिङ–१) ढुवानी गरिएको नेपाली सेनाले जानकारी दिएको छ ।