काठमाडौँ l नेपाल प्रहरीका एसएसपी(वरिष्ठ प्रहरी उपरीक्षक)हरु डीआईजीपीमा बढुवा भएपछि एसएसपीहरुको १२ दरबन्दी रिक्त अवस्थामा रहेको छ । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरुको रिक्त दरबन्दीमा एसपीहरुको बढुवा गर्नका लागी निर्वाचन आयोगले गृह मन्त्रालयलाई अनुमति समेत दिएको जानकारी हुन आएको छ । तर, प्रहरी प्रधान कार्यालय र गृह मन्त्री बालकृष्ण खाण, गृह मन्त्रालयले के कारणले हो बढुवा प्रक्रिया अघि बढाएको छैन ।
बढुवाको प्रतिस्पर्धामा रहेका एसपीहरु आईजीपी शैलेश थापा क्षेत्रीलाई भेट्न र गुनासो राख्न केही दिनअघि प्रहरी प्रधान कार्यालयमा समेत गएका थिए । बढुवाका लागी प्रतिस्पर्धामा रहेका सबै एसपीहरु नेपाल प्रहरीमा खुल्ला प्रतिस्पर्धा(लोक सेवा दिएर आएका होइनन्) राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)बाट आएका हुन् ।
भेटमा आईजीपीले नकारात्मक कुरा नगरेपनि अहिले बढुवा हुने एसएसपीहरु मध्येबाट प्रहरी महानिरीक्षक हुने लाइनमा बस्ने चित्र देखेपछि आईजीपी क्षेत्रीले बढुवामा चासो नदेखाएको स्रोत बताउछ ।
कञ्चनपुरमा हत्या गरिएकी निर्मला पन्त प्रकरणमा निलम्बन परेर मुद्दा खेपेर सफाइ पाएका एसपी डिल्लीराज विष्ट पनि यही समयमा बढुवाको प्रतिस्पर्धामा रहेका छन् । २०५१ चैत ५ मा सेवा प्रवेश गरेका विष्ट वरीयता सूचीको पहिलो नम्बरमा रहेका छन् ।
तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काले सेवा परिवर्तन गराएर राष्ट्रिय अनुसन्धान विभागबाट सजिलै नेपाल प्रहरीमा छिराइएका अधिकृतहरु वरीयताको सूचीमा अगाडि रहेका छन् । सिद्धिविक्रम शाह बढुवाको दुई नम्बर वरीयतामा रहेका छन् ।
वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा हुन सुशील सिंह राठौर, माधव प्रसाद श्रेष्ठ, डम्बर बहादुर विक, गणेश चन्द, उमा प्रसाद चतुर्वेदी, ओम बहादुर राना, सुरेन्द्र बहादुर गुरुङ, हिमाल कुमार श्रेष्ठ र विमल बस्नेत लाइनमा रहेका छन् ।
वरीयता सूचीमा अगाडि रहेका अधिकृतहरु एसपी गणेश चन्द बाहेक सवै राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा सजिलै आएकाहरु हुन् । एसपी सिद्धिविक्रम शाहसहितका अधिकृतहरु २०५३ पुसमा राष्ट्रिय अनुसन्धान विभागको इन्स्पेक्टरमा भर्ना भएका थिए ।
वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा हुने लाइनमा रहेका र २०५४ चैतमा प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेकाहरु राजन अधिकारी, ईश्वर कार्की, मनोज कुमार केसी र दानबहादुर कार्की पनि प्रतिस्पर्धामा छन् । नयाँ ब्याचबाट प्रतिस्पर्धामा रहेका दानबहादुर कार्की र मनोज केसी प्रहरीमा काविल अफिसरको रुपमा चिनिन्छन् ।
बढुवा समितिले यसअघि डीआईजीमा बढुवा गर्दा वरीयतामा अगाडि रहेका अधिकृतलाई मात्र बढुवा सिफारिस गरेको थियो ।
एसपीबाट एसएसपीमा बढुवा गर्दा पनि सोही विधि अपनाए २०५४ मा सेवा प्रवेश गरेका एकजना अधिकृतले मात्र बढुवा अवसर पाउनेछन् ।
सो ब्याचबाट १ नम्बर वरीयता सूचीमा राजन अधिकारी रहेका छन् । तर, एसपी अधिकारी गुप्तचरबाट आएका अधिकृतहरु भन्दा वरीयतामा पछाडि रहेको स्रोत बताउछ । साँघु साप्ताहिकबाट