काठमाडौँ l राष्ट्र बैंकले दुई अर्ब पाँच लाख रुपैयाँ संस्थागत निक्षेप लगानी गर्ने भएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक सुचना जारी गर्दे वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुसंग रकम लगानीको लागि प्रस्ताव मागेको हो ।
राष्ट्र बैंकको विभिन्न कोषमा रहेको रकम तीन सय ६५ दिने मुद्धती निक्षेपकोरुपमा वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुमा लगानी गर्न लागिएको राष्ट्र बैंकको भनाई छ । रकम लगानीको अवधि २०७९ जेठ तीन गतेदेखि २०८० जेठ दुई गतेसम्म रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसरी मुद्धती निक्षेपकोरुपमा लगानी गरिने कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि एक अर्ब ६० करोड पाँच लाख, विकास बैंकहरुको लागि ३० करोड र फाईनान्स कम्पनीहरुको लागि १० करोड रुपैयाँ छुट्याईएको जानकारी समेत राष्ट्र बैंकले दिएको छ ।
रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही बैशाख २० गते अपरान्ह तीन बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर प्रस्ताव पेस गर्नुपर्ने छ ।
प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने शर्तहरु तोकिएका छन् ।
