काठमाडौँ l प्रधानसेनापति प्रभुराम शर्माले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखसँग सैनिक मुख्यालय जंगी अड्डामा स्थानीय निर्वाचन केन्द्रित छलफल गरेका छन् ।
प्रधानसेनापति शर्माले आईतबार आसन्न स्थानीय तह निर्वाचन– २०७९ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलसँग जंगी अड्डामा भेटघाट तथा छलफल गरेका हुन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार युद्धकार्य निर्देशनालयका निर्देशकले स्थानीय तह निर्वाचनका लागि नेपाली सेनाले हालसम्म गरेका कार्यहरुको प्रगति विवरण तथा भविष्यमा अन्य सुरक्षा निकायहरुसँग समन्वय गर्नुपर्ने विषयहरुका बारेमा जानकारी गराएका थिए ।
निर्देशनालयका अनुसार सबै सुरक्षा निकायका प्रमुखहरुबीच स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायहरुलाई प्राप्त जिम्मेवारीहरु आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लगायतका विषयहरुमा छलफल भएको थियो ।
नेपाली सेनाका बलाधिकृत रथी, बलाध्यक्ष रथी, रथीवृन्दहरु तथा अन्य सुरक्षा निकायका पदाधिकारीको छलफलमा सहभागीता रहेको थियो ।