काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रातृ एवं शुभेच्छुक संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ५३औँ वार्षिकोत्सवका अवसरमा नेविसङ्घ उपत्यका क्याम्पस एकाइले बुधबार आयोजना गरेको ‘स्थानीय निर्वाचनमा नेविसङ्घको भूमिका र पार्टीको दायित्व’ विषयक अन्तरक्रियामा उनले भ्रातृ एवं शुभेच्छुक संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताए ।
‘हामी के कारणले कम्युनिष्टसँग मिलेर निर्वाचनमा जान खोजिरहेका छौँ, कांग्रेस एक्लै लड्यो भने पनि आफ्नो गन्तव्यमा पुग्न सक्छ’, डा कोइरालाले भने । उनले कांग्रेसलाई कुनै शक्तिको वैशाखी टेक्नु नपर्ने अवस्था रहेको उल्लेख गरे । उनले आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन सबै विद्यार्थी लाग्नुपर्ने बताए । नेविसङ्घलाई पूर्णता दिएमात्र कांग्रेस बलियो हुने उनको भनाइ थियो ।