काठमाडौँ l यहि बैसाख ३० को स्थानीय तह निर्वाचनका सन्दर्भमा नेकपा माओवादी केन्द्रको बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा बसेको छ ।
केन्द्रीय कार्यालयको विस्तारित सो बैठकमा उपलब्ध पूर्वस्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरू सहभागी थिए । बैठकमा अध्यक्ष प्रचण्डले तालमेलको विषय निकै पेचिलो र असहज रहेको स्वीकार गरेका छन् । सकेसम्म सबै ठाउँमा कांग्रेससँग बार्गेनिङ गरेर तालमेलको प्रयास भइरहेको प्रचण्डले ब्रिफिङ गरेको स्रोतले जानकारी दिएको छ ।
नेकपा एस, जसपालाई लक्षित गर्दै प्रचण्डले ‘अन्य दल’ ले आफ्नो हैसियतभन्दा माथि शक्ति रहेको दाबी गरेकाले तालमेलको विषय कठिन भएको बबताएका छन् । ‘अध्यक्ष कमरेडले सकेसम्म बार्गेनिङ गरेर तालमेल गर्ने । सहमति नभएको अवस्थामा कांग्रेससँग स्वस्थ प्रतिस्पर्धा गर्न सकिने उहाँले बताउनु भएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘केही स्थानमा गठबन्धनका अन्य दल मिलेर पनि प्रतिस्पर्धा गर्न सकिने उहाँको धारणा रह्यो । सोहीअनुसार छलफल भयो ।’
अध्यक्ष प्रचण्डले आगामी स्थानीय तह निर्वाचनका लागि पाँच दलीय गठबन्धनमा व्यापक छलफल गरेर जानुपर्ने बताएका छन् । बैठकलाई सम्बोधनका क्रममा प्रचण्डले सबै पार्टीबीच व्यापक छलफल गरेर जानुपर्ने पनि बताएका छन् । ‘गठबन्धनमा व्यापक रुपमा छलफल गरेर जानुपर्छ । गठबन्धनको बैठकमा हामीले हाम्रो आधार टेकेर यथार्थ खोज्ने ढंगले प्रस्तुत हुनुपर्छ’, उनले भने, ‘सिट बाँडफाँटले गठबन्धनमा समस्या आयो भनेर भन्नु हुँदैन । हामीले पार्टीभित्र त मिलाउन नसक्दा समस्या आउँछ भने यो त गठबन्धनको कुरा भयो ।’
प्रचण्डले देशका कयौं ठाउँमा समस्या आए पनि कांग्रेस सभापति शेरबहादुर देउवा मुख्य गठबन्धनकै पक्षमा रहेको ब्रिफिङ गरेका छन् । ‘अहिले पनि मुख्य गठबन्धनको पक्षमा देउवाजी हुनुहन्छ । उहाँ लचक हुनुहुन्छ । गठबन्धन रहन्छ र टिक्छ पनि’, उनले भने, ‘कतिपय ठाउँमा दोहोरो उम्मेदवारी परे पनि त्यसलाई हामीले यता उता गर्न सकिन्छ ।’