शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

मेयरमा धमाधम एमालेबाट सर्वसम्मत सिफारिस, गठबन्धनलाई हम्मेहम्मे

मंगलबार, चैत्र २९ २०७८

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनका लाग प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले देशैभर मेयर तथा गाउँपालिका प्रमुखमा  धमाधम सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ भने सत्तारुढ गठबन्धनलाई तालमेल मिलाउन हम्मेहम्मे परिरहेको छ ।
भर्खरै मात्र एमालेले रंगेली नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिका मेयरमा उम्मेदवारी टुंगो लगाएको छ । यी दुई ठाउँमा एमालेले मेयरका लागि सर्वसम्मत सिफारिस गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका मेयरका लागि पशुपतिदयाल मिश्र तथा रंगेली नगरपालिका भावी मेयरमा दिलीप बगडिया सर्वसम्मत रुपमा सिफारिसमा परेका छन् ।

हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र नागरिक अभियान परित्याग गरी नेपालगञ्जका मिश्र गत १ मंसिरमा एमाले प्रवेश गरेका थिए भने २५ फागुनमा नेकपा माओवादी केन्द्र परित्याग गरी बगडिया प्रवेश गरेका थिए । पुनस् उम्मेदवार भएका बगडिया सो नगरपालिकामा माओवादीबाट विजयी मेयरसमेत हुन् ।

बाँकेको नेपालगञ्ज नगर कमिटी बैठकले मिश्रलाई सर्वसम्मत रुपमा एमालेबाट भावी मेयरका लागि सिफारिस गरेसँगै उपमेयरमा शान्ति ढकाल पनि सर्वसम्मत सिफारिसमा परेकी छिन् ।

ढकाल एमाले केन्द्रीय सदस्यसमेत हुन् भने मिश्र २०७४ सालको निर्वाचनमा सूर्य चिह्न लिएर प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार भए पनि पराजित भएका थिए ।

एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार रंगेलीमा बगडियासँगै धनपालथान गाउँपालिकाका अध्यक्षका लागि मुसहरु मण्डल सिफारिस भएका छन्। एमालेले ५ वैशाखभित्र स्थानीय तहका सबै उम्मेदवार सिफारिस गर्न निर्देशन दिएअनुसार देशैभरि एमालेले उम्मेदवार सिफारिस गरिरहेको छ ।
यसैगरी अछामको ढकारी गाउँ संगठन कमिटीले पनि स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन गरेर पठाएको छ । 

संगठन कमिटीको भेलाले एमाले अछामका पुराना नेता धर्मबहादुर शाहीलाई अध्यक्ष र युवा नेतृ एमाले जिल्ला सदस्य मायादेवि बुढालाई उपाध्यक्षको उम्मेदवारका लागि सर्वसम्मत छनोट गरेर माथिल्लो कमिटीमा पठाएको हो ।

पालिका अध्यक्ष अमर सिंह बुढाको अध्यक्षतामा भएको बैठकमा उम्मेदवार छनौटका लागि गाउँपालिका संगठन कमिटी सचिव नहकुल साउदले राखेको प्रस्ताव भेलाले सर्वसम्मतअनुमोदन गरेको थियो ।
यता तनहुँको भिमाद नगरपालिकामा भने मेयर र उपमेयरको उम्मेदवार छान्न एमालेले मतदान नै गरेको छ ।  आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भिमादको मेयर र  उपमेयर हुनलाई आकांक्षी धेरै भएपछि सोमबार मतदान भएको थियो ।

मतदानमा नगर कमिटी सदस्य ८४ जना सहभागी थिए भए । मतदानबाट मेयरमा दधिराज सुवेदी र इमानबहादुर थापाको नाम सिफारिस गरिएको छ । सुवेदीले ५८ र थापाले ५७ मत प्राप्त गरेका छन् । फेरी मेयरमा दोहोरिने आकांक्षा राखेका मेखबहादुर थापाले ३६ मत मात्रै पाएर आकांक्षीको सूचिबाट बाहिरिएका छन् । मेयरका आकांक्षी भवानीशंकर लम्सालले पनि १० मत प्राप्त गर्दा सिफारिस हुने मौकासमेत पाएनन् ।

उपमेयरमा शारदा खनाल, चन्द्रावती श्रेष्ठ र नारायणी गैह्रे लामिछाने सिफारिस भएका छन् । पाँच जना उपमेयरमा आकांक्षी थिए । खनालले ७४, श्रेष्ठले ४८ र गैह्रेले ४७ मत पाएका छन् । उपमेयरमा इच्छा व्यक्त गरेका दिना गोतामे ३१ र पवित्रा थापा मगरले ४० मत मात्रै पाए । 

यसैगरी सुर्खेतको भेरी एमाले नगर कमिटिले जाजरकोट भेरी नगरपालिकाको उम्मेदवारहरू टुंङ्गो लगाएको छ ।
सत्ता गठबन्धन दललाई उम्मेदवारको टुंङ्गो लगाउन हम्मे परेको बेला नेकपा एमालले भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई सर्वसहमत फेरि पनि उम्मेदवार बनाउने निर्णय गरेको एमाले जाजरकोटका अध्यक्ष खिमबहादुर शाहीले जानकारी दिए ।

सत्ता गठबन्धन दलहरू कसले के कति लिने भन्ने विषयमा छलफल जारी राखे पनि निश्कर्षमा पुगिनसकेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश उपाध्यक्ष ढकवीर रानाले बताए ।

जाजरकोटमा सात वटा स्थानीय तह छन् । भेरीमा कांग्रेस, माओवादी र नेकपा एसको दावी रहेको छ । पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतको पालिका भएकै कारण सबैको आँखा भेरीमै छ ।

सत्तारुढ दलहरू प्रचारप्रसारमा समेत सुस्त देखिएका छन् । नेकपा एमालले भने छलफललाई समेत तीव्रता दिएको छ ।  सुरुमा आरोप प्रतिआरोपमा उत्रिएका माओवादी केन्द्र र कांग्रेस अहिले वाक युद्ध छोडेर भागबण्डा र टिकट कसले पाउने भन्ने विषयमा व्यापक छलफलमा रहेका छन् । केन्द्रीय स्तरमा नेताहरूको घरदैलो धाउन समेत थालेका छन् ।  

माओवादीले चार स्थानीय तहमा दावी गरेको छ भने कांग्रेसले पनि त्यही संख्या मागेको छ । नेकपा एसले दुई पालिकामा मागेको छ । २०७४ सालमा माओवादीले दुई, कांग्रेसले दुई स्थानीय तह जितेका थिए । नेकपा एमालेले दुर्इ नगरपालिका सहित एक गाउँपालिकामा जित हात पारेको थियो ।