बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमालेसँग एक्लै लड्न नसक्ने भएपछि तालमेल गर्दैछन्: अध्यक्ष ओली

बुधबार, चैत्र २३ २०७८

वीरगञ्ज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धनले तालमेल गर्ने भएको आरोप लगाएका छन् । 

वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल गठबन्धन बनाएर तालमेल गर्न लागेको आरोप लगाएका हुन् ।

‘एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छन् । आज त झनै यति साथी एमाले प्रवेश गरिसक्नुभएको छ । अहिले के भयो होला उनीहरूलाई,’ ओलीले भने, ‘हजारौँ मानिस एमाले प्रवेश गर्नुभन्दा अगाडि नै भन्दै थिए एमालेसँगै एक्लै लड्न सकिँदैन । गठबन्धन कायम राखेर, तालमेलबाट लड्नुपर्छ भने ।’  

उनले केही स्वार्थी व्यक्तिले केपी ओली मधेशीविरोधी रहेको हल्ला चलाएको बताए ।

‘केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरुले,’ उनले भने, ‘म मधेशको मान्छे । ६० वर्षदेखि मत मधेशको बासिन्दा हो । ६० वर्षदेखि मधेशमा बसेको छु ।’ 

उनले पाँच दलीय गठबन्धनको सरकार गलत बाटोबाट बनेको बताए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष ओलीले स्वागत गरेका थिए ।