बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माओवादीले चुनावी तालमेलको प्रस्ताव गरे यस्तो हुनसक्छ एमाले शर्त

सोमबार, चैत्र २१ २०७८

काठमाडौं। स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको तालमेलको तयारी गरे पनि कतिपय स्थानमा कांग्रेस माओवादीलाई सहयोग गर्नका लागि तयार छैन। खासगरी चितवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल दुवैलाई सहयोग गर्न नसकिने कांग्रेसभित्र बलियो मत छ।

महानगरमा त मेयर नपाए माओवादीलाई सहयोग गर्न नसकिने चितवन कांग्रेसले औपचारिक निर्णय गरिसकेको छ। यदि माओवादी स्वतन्त्र उठेको खण्डमा भने प्रचण्डलाई पनि प्रतिनिधि सभाको निर्वाचनमा सहयोग नगर्ने स्पष्ट छ।

गठबन्धनबाट माओवादीलाई सहयोग हुने अवस्था नदेखेको खण्डमा प्रचण्डले एमालेसँग सहकार्यका लागि प्रस्ताव गर्न सक्छन्। माओवादी नेता बर्षमान पुनले भनेका छन्,‘तालमेलको सम्भावना टुटेको छैन, एमालेसँग सहकार्य हुन्छ। तर त्यसका लागि अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गलत भएको स्वीकार गर्नुपर्छ।’

तर सबैभन्दा ठूलो दल एमालेलेचाहिँ माओवादीको शर्तअनुसार तालमेल हुन नसक्ने बताइसकेको छ। बरु, माओवादीले सहकार्य गर्नका लागि एमालेका अनेक शर्त रहेका छन्। उपाध्यक्ष विष्णु पौडेलले कतिपय शर्तका विषय खुलाएका छन्।

नेकपा सरकार गिराएर कांग्रेसलगायतलाई बोकेर प्रचण्डले दक्षिणपन्थी सरकार बनाएकोमा माफी मागे वार्ता हुने पौडेलको भनाई छ। यद्यपि स्थानीय तहको निर्वाचनमा भने सहकार्य नहुने उनले खुलाएका छन्।

यस्तै नेकपा रहँदा प्रचण्डले ओलीमाथि लगाएका १९ बुँदे आरोप फिर्ता लिनुपर्ने मुख्य शर्त एमालेले अगाडि राखेको छ। ‘राजनीतिमा संवाद नहुने भन्ने त हुँदैन तर प्रचण्डले कम्युनिस्ट सरकार ढाल्नका लागि के–के गरेका छन् सबैमा माफी माग्ने, फिर्ता लिने जस्ता काम नगरे सहकार्य सम्भव हुँदैन’, एमाले उच्च स्रोतले भन्यो,‘सरकार गिराएकोमा पनि माफी माग्नुपर्छ।’